बागमतीमा प्रदेश सरकार अल्पमतमा : मुख्यमन्त्रीमा दुई जनाको दाबी

काठमाडौं, २७ भदौ ।  बागमती प्रदेशमा गठबन्धनको सरकार बन्ने निश्चित भएको छ । यद्यपि मुख्यमन्त्रीको विषयमा भने टुङ्गो लाग्न बाँकी छ । नेकपा एमालेबाट प्रदेश सरकारको नेतृत्व गरिरहेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेसँगै विपक्षी गठबन्धनको सरकार बन्ने निश्चित भएको हो ।भदौ २ गते नेकपा एमालेको एकता जोगाउन भन्दै एमालेले मुख्यमन्त्री परिवर्तन गरेको थियो । तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएपछि एमालेबाटै शाक्यलाई मुख्यमन्त्री बनाइएको हो । तर, शाक्य मुख्यमन्त्री बनेको एक सातामै एमाले विभाजन भई प्रदेश सरकार अल्पमतमा परेको हो ।

एमालेले ५६ सांसद्का एकल बहुमतको सरकार गठन गरे पनि दल विभाजनसँगै एमालेका १३ जना सांसदले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । योसँगै प्रदेश सरकार अल्पमतमा परेको हो । प्रदेशसभामा अब एमालेसँग ४३ सांसदमात्र छन् । नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रसहितको विपक्षी गठबन्धनले प्रदेशसभामा बहुमत प्राप्त गर्ने देखिन्छ ।बागमती प्रदेशमा सरकार अल्पमतमा परेसँगै गठबन्धनले प्रदेश सरकारको नेतृत्वका लागि पहल सुरु गरेको छ ।

गठबन्धनले नयाँ सरकार बनाउन तयारी गरेसँगै मुख्यमन्त्रीमा नेपाली काँग्रेस बागमती प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ र नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्रीका लागि दाबी गर्न थालेका छन् । केन्द्रीय नेतृत्वसँग उनीहरुले आ–आफ्नो दाबी गरिरहेका छन् ।यता गठबन्धनको अर्को दल नेकपा माओवादी केन्द्र भने अन्य ३ वटा प्रदेशमा प्रदेश सरकारको नेतृत्व गरेका कारण बागमती प्रदेशमा भने नेतृत्वको होडबाट पछि हटेको छ ।नेपाली काँग्रेस बागमती प्रदेशका सचेतक छिरिङ दोर्जे लामाले देशका २ वटा प्रदेशमा एकै पटक गठबन्धनको सरकार बन्ने भएकाले काँग्रेसले ती दुईमध्ये कुनै एक प्रदेशमा सरकारको नेतृत्व गर्ने बताए ।प्रदेश १ र बागमती प्रदेशमध्ये काँग्रेसले कुनै एकमा र अर्कोमा नेकपा एकीकृत समाजवादीले सरकारको नेतृत्व गर्ने उनको भनाइ छ ।

नेकपा एमाले विभाजन भएदेखि नै नेकपा एकीकृत समाजवादीका नेता पाण्डेले मुख्यमन्त्रीमा दाबी गरिरहेका छन् भने बानियाँ केन्द्रीय नेतृत्वले जिम्मेवारी दिने भन्दै आफ्नो पनि दाबी रहेको बताउँछन् ।गठबन्धनमा आवद्ध दलहरु नेकपा एकीकृत समाजवादीका सांसदको सूची निर्वाचन आयोगबाट आउनासाथ प्रदेशसभामा सरकारविरुद्ध अविश्वास प्रस्ताव लैजाने तयारीमा छन् ।

संसद् अधिवेशन अन्त्य भएको बेलामा बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीको दाबी गर्दै प्रदेशसभाको विषेश अधिवेशन माग गर्ने उनीहरुको भनाइ छ ।बागमती प्रदेशसभामा कायम रहेका स–साना दलहरूको समर्थन पाउँदा समेत मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार टिक्ने अवस्था देखिँदैन ।कुल ५६ सिटबाट ४३ सांसदमा खुम्चिएको एमालेलाई सरकार टिकाउन थप १३ सांसद आवश्यक हुन्छ । बागमती प्रदेशसभाका साना ४ दलले साथ दिने हो भने पनि ती दलका कुल सांसद संख्या ८ मात्र पुग्छ । उनीहरुको साथबाट पनि शाक्य नेतृत्वको सरकार जोगिने अवस्था छैन ।प्रदेशसभामा विवेकशील साझाका ३, राप्रपाका २, नेमकिपाका २ र स्वतन्त्र एक गरी ८ सांसद् छन् । एमालेलाई सरकार टिकाउन १३ सांसद आवश्यक पर्नेमा साना दलको समर्थनले मात्र पनि सरकार टिक्न नसक्ने देखिएको हो ।

बागमती प्रदेशमा हाल कायम रहेका १०९ जना सांसदमध्ये १३ नेकपा एकीकृत समाजवादीका, २३ नेकपा माओवादी केन्द्रका, २२ नेपाली काँग्रेसका सांसद छन् । यी तीन दल मिल्दा प्रदेशसभामा गठबन्धनको पक्षमा ५८ सांसद हुन्छन्, जो प्रदेशसभाको पूर्ण बहुमत संख्या हुन्छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति