संसद बैठक बस्दै, चल्न नदिने एमालेको रणनीति

काठमाडौँ, २७ भदौ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएपछिको यो पहिलो संसद् बैठक हो । बैठक दिउँसो १ बजे बस्नेछ ।

तर, आजको बैठक पनि सहज ढंगले अघि बढ्न नदिने एमालेले तयारी गरेको छ । आफूहरुको विरोधका बीच शुक्रबार सरकारले प्रतिस्थापन विधेयक ल्याएर एकतर्फी संसद चलाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले रुष्ट छ ।

सभामुखले पक्षपातपूर्ण व्यवहार गरेको भन्दै एमाले आन्दोलित छ ।सभामुख अग्निप्रसाद सापकोटाले एमाले फुटाउन सहयोगी बनेको आरोप उक्त पार्टीका नेताहरुले आरोप लगाउँदै आएका छन् । पार्टीबाट कारबाही गरिएका १४ सांसद्को कारबाहीलाई १३ दिनसम्म रोकेका सभामुख सापकोटाले दल विभाजन भइसकेपछि मात्रै निर्णय गरिरहनु नपर्ने भन्दै सूचना सुनाएपछि एमाले रिसाएको छ ।सभामुखले गल्ती स्वीकार नगरेसम्म बैठक चल्न नदिन एमाले सांसद् नारदमुनि रानाले बताए ।

अदालतमा बिचाराधीन मुद्दालाई एमालेले संसदमा चर्काएको भन्दै आलोचना पनि भइरहेको छ । तर यसको जिम्मेवारी पनि सभामुख सापकोटा नै भएको रानाले बताए ।‘अदालतमा बिचाराधीन मुद्दा २७ गते छिनोफानो हुँदैछ भन्ने जान्दा जान्दै बैठक राख्ने हतारो के थियो । सभामुखको नियत नै मुठभेड गराउने देखिन्छ,’ रानाले भने, ‘अदालतबाट पनि न्याय नपाए सभामुखलाई महाअभियोग लगाउँछौँ ।’एमाले फुटेर माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा ९एकीकृत समाजवादी० ले भदौ ९ गते प्रमाणपत्र नै पाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति