सरकारले बलमिच्याईं गरेर नयाँ बजेट ल्याउनु आपत्तिजनक : एमाले

काठमाडौं, २६ भदौ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले बलमिच्याई गर्दै नयाँ बजेट ल्याएको भन्दै आपत्ति जनाएको छ । आफ्नो सरकारले ल्याएको आर्थिक वर्ष २०७८/ ७९ को लोकप्रिय कार्यक्रम कटौती गरेको र हचुवाको भरमा कार्यक्रम थपेको उसको आरोप छ ।

एमाले स्थायी कमिटीको शनिबार बसेको बैठकले पार्टी विभाजनमा सभामुखको भूमिकालाई लिएर आफूहरुले विरोध गरिरहेका बेला सरकारले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याउनु बलमिच्याई भएको ठहर गरेको छ ।‘पूर्व सूचना नदिई प्रतिपक्षी दलसँग सरसल्लाह नगरी हठात र छापामार शैलीमा बजेट ल्याइएको छ,’ एमाले सचिव योगेश भट्टराईले भनेका छन् ।अघिल्लो सरकारले अघि सारेका कतिपय लोकप्रिय र सडक लगायतका विकास निर्माणका आयोजनालाई कटौती गरेको र हचुवाका भरमा आयोजना थपेको भन्दै एमाले सचिव भट्टराईले भने, ‘यसप्रति हाम्रो आपत्ति छ ।’

सचिव भट्टराईले थपे सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमाले पार्टी विाजनको निम्ति खेल्नुभएको भूमिका र निष्पक्षतामाथि टिप्पणी रहेको छ, सभामुखले संसदलाई निष्पक्षतामा नलगी सत्तापक्षको प्रतिनिधि भएर काम गरेको छ, अहिले सडकमा विभिन्न विषयवस्तुमा भइरहेको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले अनावश्यक धरपकड गरी, जनतालाई दुःख दिएकोमा सरकारलाई स्थिती उत्तेजित नबनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय हामीले गरेका छौँ ।’ नेकपा एमालेको आज बसेको स्थायी कमिटीको बैठकले भोलि (आईतवार) मध्यान्ह १२ बजे संसदीय दलको बैठक डाकेको सचिव भट्टराईले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति