काठमाडौं, २५ भदौ । सरकारले प्रतिनिधि सभाबाट नयाँ बजेट ल्याउने बाटो खोलेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीबीच अध्यादेशमार्फत् ल्याइएको बजेट स्वीकृत गरेर सरकारले नयाँ बजेट ल्याउन बाटो खोलेको हो। सरकारले ल्याएको अध्यादेश स्वीकृत भएसँगै अब सरकारले प्रतिस्थापन विधेयकमार्फत् नयाँ बजेट ल्याउनुपर्छ। सरकारले बजेट खर्च गर्न भदौ ३० गतेसम्म प्रतिस्थापन विधेयक ल्याइसक्नुपर्छ। संसदको अघिल्लो अधिवेशनमा नै बजेटसम्बन्धी अध्यादेश टेबल भएको थियो।
भदौ ३० गते त्यसको ६० दिन पुग्दैछ। साठी दिनभित्र संसदबाट उक्त अध्यादेशको प्रतिस्थापन विधेयक पास नभए खारेज हुने व्यवस्था छ। सरकारले ३० गतेभित्रै नयाँ बजेट संसदमा पेश गरेर पास गराइसक्नुपर्छ।प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नाराबजी गरे पनि सभामुख अग्नि सापकोटाले संसद अघि बढाएका थिए। एमालेले संसदको नवौं अधिवेशन सुरू भएदेखि नै प्रतिनिधि सभामा रोष्टम घेराउ र नाराबाजी गर्दै आएको छ।
एमाले सांसदले सभामुखले भेदभावपूर्ण व्यवहार गरेको आरोप लगाइरहेका छन्। प्रतिनिधि सभाको दोस्रो बैठकमा एमाले सांसदले रोष्टम घेराउ गरिरहेका बेला अर्थमन्त्री जनार्दन शर्मा कुदेर रोष्टममा पुगेका थिए। मर्यादापालकको सहयोगमा रोष्टम उक्लिएपछि अर्थमन्त्री शर्माले आर्थिक अध्यादेश, विनियोजन अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश स्वीकृतिका लागि पेश गरेका थिए। सबै अध्यादेश प्रतिनिधि सभाको बहुमतले स्वीकृत भएको हो।
प्रतिक्रिया