काठमाडौं, २५ भदौ । मादीमा भएको सामूहिक हत्या घटनामा संलग्न खोजीका लागि प्रहरीको पूर्ण शक्ति परिचालन भएको छ । तर घटना भएको ४ दिन बित्दा पनि प्रहरीले कसैलाई पक्राउ गरिएको छैन । प्रहरीले स्थानीयबासिन्दा र संचारकर्मीलाई अनुसन्धान सकारात्मकतर्फ उन्मुख भइरहेको मात्रै बताउँदै आएको छ ।
घटना भएकै दिनबाट घटनास्थलमा संघीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीमबहादुर दाहालको नेतृत्वमा कुकुरसहितको विशेष प्रहरी टोली परिचालित छ । त्यस्तै, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), प्रदेश प्रहरी कार्यालयबाट प्रहरीको रिट टोली, जिल्ला प्रहरी कार्यालय संखुवासभा र इलाका प्रहरी कार्यालय चैनपुरको प्रहरी टोली अनुसन्धानमा छ । प्रदेश १ का प्रहरी प्रमुख डिआईजी अरुणकुमार बिसीसमेत घटनास्थलमा पुगेका छन् ।
यति धेरै प्रहरी परिचालन गरिए पनि घटना भएको चार दिनसम्म अपराधी पक्राउ पर्न सकेका छैनन् । केही क्लु पत्ता लागेको प्रहरी स्रोतले बताए पनि अनुसन्धानमा खटिएका प्रहरीले भने केही खुलाएका छैनन् । हत्याको कारण र हत्यारा फेला नपर्नुले सर्वसाधारणमा त्रास देखिएको मादी नगरपालिकाका मेयर विदुर लिङ्थेपले बताए । सर्वसाधारण त्रसित नहुनुहोस्, उनले भने, अनुसन्धानमा सघाउनुस्, अपराधीलाई कारबाहीको दायरामा ल्याउन सबले सहयोग गर्नु पर्छ ।एकै परिवारका ६ सदस्यको ‘सामूहिक हत्या’ अनुसन्धानमा प्राविधिक (टेक्निकल) कोणबाट ठोस उपलब्धि हात नपरेपछि प्रहरी अनुसन्धान मानवीय सुरु गरेको छ । घटना भएको हप्ता दिन र घटनापछिको २४ घण्टाको कल डिटेल रेकर्ड (सीडीआर) विश्लेषण गर्दा ठोस उपलब्धि हात नपरेको अनुसन्धान अधिकृतहरूले बताएका छन् ।
प्रतिक्रिया