प्रतिनिधिसभा नियमावलीविपरीत संसदमै एमालेको नारा : सभामुख मुर्दावाद

काठमाडौं, २३ भदौ । नेकपा एमालेका सांसदहरुले प्रतिनिधिसभा नियमावली २०७५ विपरित प्रतिनिधि सभाका सभामुखविरुद्ध संसदमै नाराबाजी गरेका छन् । बुधबारको बैठक सुरु भएलगत्तै नाराबाजीमा उत्रेका एमाले सांसदहरुले ‘सभामुखको आसनमा बसेर एमाले फुटाउन पाइँदैन । सभामुख अग्नि सापकोटा मुर्दावाद, संसदको सर्वोच्चता कायम गर’ जस्ता अमर्यादित नारा लगाएका थिए ।सभामुख सापकोटाले नियम २१ को खण्ड ‘ख’ र ‘ग’ अध्ययन गर्न ध्यानाकर्षण गराएका थिए । त्यति गर्दा पनि एमाले सांसदहरुले नाराबाजी नरोकेपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।
संसदीय नियमावली अनुसार ‘सभामुखले पद अनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नुहने’ व्यवस्था छ ।

सभामुखले उल्लेख गरेको धारा र नियमावलीमा के छ ?

प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफ्नो दल विभाजनको मतियार बनेको आरोप लगाउँदै सभामुखसँग जवाफ माग्दै नाराबाजी गरेपछि सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरे । एमाले प्रमुख सचेतक विशाल भट्टराईले उठाएको प्रश्नको जवाफ दिँदै सभामुख अग्निप्रसाद सापकोटाले आफूले नियम अनुसारै काम गरेको र यो विषय अदालतमा समेत प्रवेश गरिसकेको भन्दै छलफल गर्न नमिल्ने बताए । त्यस क्रममा उनले संविधानको धारा १०५ र प्रतिनिधिसभा नियमावली २०७५ को २१ पनि उल्लेख गरे ।
के छ संविधानको धारा १०५ मा ?
संविधानको धारा १०५ मा अदालतमा विचाराधीन कुनै पनि विषयमाथि संसदमा बहस गर्न बन्देज गरेको छ । प्रतिनिधिसभा नियमावली २१ को खण्ड ख, ग र घ मा सभामुखले पद आचरणको छलफल नगरेको भन्ने विषयमाथिको छलफल बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने, सभामुखको कुनै पनि निर्णयको आलोचना गर्न नहुने र सभामुखमाथि कुनै पनि आपत्तिजनक शब्द बोल्न नहुने उल्लेख छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति