काठमाडौं, २३ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पद, प्रतिष्ठा र पैसाको निम्ति लडिरहने हो भने माओवादी पार्टी विघटन गरिदिए हुने बताएका छन् । उनले यसबारे गम्भीर भएर सोच्न नेता–कार्यकर्ताहरुलाई आग्रह पनि गरे । जनयुद्धमा मारिएका सुरेश वाग्ले (बासु) र भिमसेन पोखरेलको २२ औं स्मृति दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले माओवादी प्रतिक्रान्तिको सेवा गर्ने ठाउँमा पुग्ने हो कि भन्ने खतरा देखिएको बताए ।
आफूले यस्तो कुरा गरेर निराशा बाँड्न नखोजेको प्रष्टीकरण दिंदै प्रचण्डले भने, ‘हिजो त्यत्रा त्यत्रा सहिदहरु, त्यत्रो बलिदान, त्यत्रो त्याग, समाज रुपान्तरण, क्रान्तिको निम्ति सम्पूर्ण समर्पण गरेर हिंड्ने पार्टी आज एमालेजस्तै हुने हो भने त यो पार्टीको औचित्य नै के रह्यो र । बरु योभन्दा राम्रो त यस्तो पार्टीलाई विघटन गरिदिए हुन्छ ।’प्रचण्डले भने, ‘पद, पैसा, प्रतिष्ठा, गुट, अराजकतालाई नै प्रश्रय दिने र एमालेजस्तै हुने हो भने, हामी मार्क्सका चेला हौं भने त बरु यसलाई विघटन गरिदिनु इमान्दारी हुने भयो के । हामी क्रान्ति गर्छौं भन्ने, गर्ने चाहिं प्रतिक्रान्ति भएपछि त धोका हो नि जनतालाई । त्यो धोका नदिने हुनका लागि बरु बिघटन गर्ने भन्ने छलफल चल्न खोज्छ आज ।’ उनले आफूहरू नसच्चिए माओवादी लोगोमा मात्र सीमित हुने खतरा औंल्याए । ‘पदको निम्ति, पैसाको निम्ति, प्रतिष्ठाको निम्ति, गुट बलियो बनाउनको निम्ति मरिहत्ते हाल्ने भनेपछि त हाम्रो पनि विस्तारै माओवादी भन्ने लोगो होला जस्तो के । चुरे भन्याजस्तो । थाहै नपाइकन हाम्रो पार्टी क्रान्तिको निम्ति आवश्यक औजार होइन, प्रतिक्रान्तिलाई नै घुमाइफिराइ सेवा गर्ने ठाउँमा पुग्ने हो कि, यो खतरा बडो गम्भीर रुपले देखिएकै छ ।’
‘त्यसो भएको हुनाले हामीले आजभोलि सोच्न खोजेको, तपाईंहरुले पनि सोच्नु होला । सबै कमरेडहरुले सोच्नैपर्छ । हामी पनि त्यस्तै हुने हो भने यो पार्टी किन चाहियो भन्ने बहस उठेको छ,’ उनले भने । ‘केही पनि नजान्ने भइयो’ मार्क्स, ऐंगेल्सले पनि आफैंले बनाएको कम्युनिष्ट इन्टरनेशनल गलत भयो भन्ने निष्कर्षमा पुगेको उदाहरण दिंदै प्रचण्डले भने, ‘बरु चाहिएन नि । जसलाई त्यस्तै गर्नु छ एमालेमै गए भयो नि । जानु भयो नि त हाम्रा केही साथीहरु । त्यसै गर्न मन लागे त गए भयो नि हामी पनि ।
एमालेमै जाने, एमाले जस्तै हुने, गुट बनाउने, पैसा कमाउने, पद प्राप्त गर्ने, दलालहरुसँग साँठगाँठ गर्ने, तिनीहरुको स्वार्थ पूरा गर्दिने हो भने त एमाले हुन राम्रो नि ।’उनले यो मामिलामा एमाले र कांग्रेसजस्तो गर्न माओवादीले नसक्ने बताए । ‘एमालेमा सबै खालको मिलेको छ, तिनीहरुको । नेटवर्क छ, सेटिङ छ । हाम्रो त सेट पनि छैन । केही पनि नजान्ने भइयो । त्यसकारण हामी पछि पर्ने भइयो । हामी सक्दैनौं उनीहरुसँग कम्पिट गर्न । एमाले र कांग्रेससँग, त्यही बाटोमा, त्यही लाइनमा, त्यही चरित्र, त्यही विशेषतामा हामी धेरै साना पर्छौं, हामी धेरै कमजोर पर्छौं । उनले माओवादीले गर्न सक्ने भनेको परिवर्तन र रुपान्तरणका लागि क्रान्ति मात्र भएको उनले बताए । उनले माओवादीको रुपान्तरण सामान्य बलले नहुने पनि बताए ।
‘नयाँ समाज निर्माण गन सक्ने, हाम्रो विशेषता त त्यो हो । त्यो गर्न नसक्ने हो भने यसको औचित्य नै के रहन्छ भन्ने प्रश्न कमरेडहरुले विचार गर्नुहोला,’ प्रचण्डले भने, ‘नकारात्मक ढंगले भनेको चाहिं होइन । हाम्रो रुपान्तरण सामान्य बलले नहुने भयो । बल अलि धेरै गर्नुपर्ने भयो भन्न खोजेको हो सारमा ।’प्रतिगमन हुन लाग्यो भने तुरुन्तै आन्दोलन गर्ने र नयाँ खालको जनयुद्ध लड्न तयार हुने माओवादी कार्यकर्ताको विशेषता भएको उनको भनाइ छ ।
‘हामी बिग्रेका छौं तर पनि त्यो क्रान्ति मोह, परिवर्तन, जनता र राष्ट्रप्रतिको जिम्मेवारीवोध मनबाट गएको चाहिं छैन । पार्टीले, लिडरसिपले यदि परिवर्तनका लागि आह्वान गर्यो भने जर्याकजुरुक उठेर फेरि प्रतिक्रियावादीहरुको सातोपुत्लो खान सक्ने ताकत यही पार्टीसँग छ, यो हामी सबैका निम्ति उज्यालो भविष्यको शुभसंकेत हो,’ उनले भने ।
प्रतिक्रिया