दार्चुला तुइन घटनाः गृहले १६ भदौमा पठाएको पत्र परराष्ट्रले किन २१ गतेमात्रै पठायो ?

काठमाडौं, २३ भदौ ।  भारतीय सीमा सुरक्षा बल (एसएसबी) को उपस्थितिमा दार्चुलामा तुइन तर्ने क्रममा खसेर जयसिंह धामी बेपत्ता भएको छानबिन समितिको निष्कर्षका आधारमा आवश्यक कूटनीतिक पहल गर्न गृहमन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।

उक्त घटना छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको दोस्रो दिन आज मन्त्रालयले आवश्यक कूटनीतिक पहलका लागि परराष्ट्रमा पत्र पठाएको गृहप्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए।

मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित समितिले भारतीय सीमा सुरक्षा बल (एसएसबी) कै उपस्थितिमा दार्चुलाको व्यास गाउँपालिका–२ खाङ्दाङ्का जयसिंह धामी मालघाटबाट तुइन तर्ने क्रममा तारसँगै महाकाली नदीमा खसेर बेपत्ता भएको प्रतिवेदन मङ्गलबार गृहमा बुझाएको थियो ।

उक्त घटना भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । मन्त्रालयका अनुसार समितिले घटनाको अनुसन्धान गरी दोषी उपर कानुनी कारबाही गर्न र जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउने सन्दर्भमा भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न सिफारिस गरेको थियो ।

“सोही प्रतिवेदनका आधारमा परराष्ट्रलाई कूटनीतिक पहलका लागि अनुरोध गरिएको छ”, गृह प्रवक्ता पोखरेलले भने । प्रतिवेदनले आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालनपोषण र शिक्षादीक्षाको उचित व्यवस्थापन गर्न सिफारिससमेत गरेको छ ।

छानबिन समितिबाट मङ्गलबार प्रतिवेदन बुझ्दै गृहमन्त्री बालकृष्ण खाँणले त्यसको कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको आश्वासन दिएका थिए। उनले प्रतिवेदन तत्कालै कार्यान्वयनको प्रक्रिया थाल्न गृहसचिव टेकनारायण पाण्डेलाई निर्देशन दिए ।

उक्त घटनाको अध्ययनका लागि मन्त्रालयले गत साउन १७ गते सहसचिव जनार्दन गौतमको संयोजकत्वमा सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी सदस्य रहेको समिति गठन गरेको थियो ।

गत साउन १७ गते गठित उक्त समितिलाई मन्त्रालयले १० दिनको कार्यादेश दिए पनि छानबिन नसकिएकाले समितिको म्याद भदौ १ र ८ तथा साउन २५ गते गरी तीन पटक थप गरेको थियो । साउन १५ गते दार्चुलाको व्यास गाउँपालिका–२ स्थित तुइन तरेर भारत हुँदै जिल्ला सदरमुकाम खलङ्गा आउने क्रममा तुइनको लठ्ठासँगै खसेर धामी नदीमा बेपत्ता भएका थिए ।

तर सरकारभन्दा बाहिर बसेर भारतसँग अनावश्यक डराउने र खुसामत गर्नेहरूको इशारामा परराष्ट्रले केही दिन ढिलाइ गरि नोट लेखेको हो । भारतीय विदेश मन्त्रालयले पनि यस विषयमा आफूलाई जानकारी नभएको भन्दै गत साता धारणा बाहिर ल्याएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले नै परराष्ट्र मन्त्रलयको जिम्मेवारी सम्हालिरहेका छन् । तर मन्त्रालय उनका आसेपासेले सञ्‍चालन गरेको परराष्ट्र अधिकारी नै बताउँछन् ।

यो विषयमा गृह मन्त्रालयले प्रतिवेदन नै सार्वजनिक गरेर स्पष्ट पार्दासमेत प्रधानमन्त्री कार्यालय नबोल्नु वा परराष्ट्रले खासै चासो नदेखाउनुले पनि धामी प्रकरणबारे सरकारले नोट पठाएर गाल टार्न मात्र लागेको देखिन्छ । अन्यथा सरकारले एउटा विज्ञप्ति जारी गरेर औपचारिकता पूरा गर्न सक्नु पर्ने थियो । तर, परराष्ट्र अधिकारीहरू तै चुप मै चुपमा छन् । हुन पनि भारतबारे कुरा उठेपछि परराष्ट्र अधिकारी अर्थात स्थायी संयन्त्र सधै पछि हट्छ ।

कूटनीतिक नोट सार्वजनिक गर्ने होइन तर नोट पठाएको विषय सरकारले आम नागरिकलाई भन्‍न आवश्यक छ । यो विषय संसद्‍मा उठ्ने छ त्यसमा उत्तर दिनुपर्ने छ समितिले माग्दा पठाइएको नोट समेत दिनुपर्ने हुन्छ । त्यस अवस्थामा नोट नै बाहिर सार्वजनिक हुनेछ । आम नागरिकप्रति सरकार उत्तरदायी हुनुपर्छ । यस्ता नोट बुझाउन राजदूतलाई मन्त्रालयमा बोलाउन सक्नु पर्ने थियो ।

यसअघि सीमा विवादको विषयको नोट दिँदा राजदूतलाई मन्त्रालयमा बोलाएर दिइएको थियो भने मन्त्रालयले त्यसबारेमा जानकारीसमेत बाहिर ल्याएको थियो । भारत प्रवेश गर्न लागेको एक युवकको हत्या गर्ने शैलीमा नै तुइन काट्ने काम सीमामा बस्‍ने सुरक्षाकर्मीले गर्छन् भने त्यहाँ छानबिनको आवश्यकता पर्दछ । यस्तो विषयमा परराष्ट्रले पहलकदमी गर्न आवश्यक छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति