काठमाडौं, २२ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाले एमसीसी परियोजना जबरजस्ती नेपालमा लाद्न खोजेको भन्ने भ्रामक टिप्पणी भइरहको बताएका छन् । मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकमा बोल्दै पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले बाबुराम भट्टराईको सरकारबाट सुरु भएको परियोजना नेपालले मागेर मात्र अमेरिकाले दिएको बताए ।
“हामीले मागेर परियोजना आएको हो, अमेरिकाले जबरजस्ती दिएको भन्ने भ्रामक कुरा चिर्नुपर्छ,” देउवाले भने । उनले अमेरिकी सहयोग परियोजना एमसीसीबारेका भ्रम जनताबाट हटाउन आवश्यक रहेको बताए । बैठकमा सहभागी एक सांसदका अनुसार देउवाले अहिले माओवादीले एमसीसी परियोजनाको विरोध गर्नुको तुक नभएको धारणा राखेका थिए ।
“तत्कालीन राष्ट्रिय योजना आयोगको उपाध्यक्ष जो माओवादी निकट थिए उनीहरूकै सल्लाहमा तत्कालीन अमेरिकाका लागि नेपाली राजदूत शंकर शर्माको माध्यमबाट अनुनय विनय गरेर परियोजना ल्याइएको हो,” बैठकमा उनले भनेका थए । रसिया र चीनको बिचमा रहेको राष्ट्र मंगोलिया र इन्डोनेसियाले दोस्रोपटक परियोजना लिएको भन्दै देउवाले सैनिक रणनीतिको हिस्सा एमसीसी नभएको बताएका थिए ।
“यो विशुद्ध विकास परियोजना हो, हामीले जनतालाई बुझाउनुपर्छ,” बैठकमा देउवाले भनेका थिए, “सैनिक रणनीति भएको भए शक्ति राष्ट्रहरूकोबिचमा भएका साना देशहरूले दुई दुईपटक किन परियोजना लिन्थे होला र ” उनले आफ्नो सरकारले ११ बुँदामा परियोजनाबारे अमेरिकालाई सोधेको र त्यसको चित्तबुझ्दो जवाफ आएपछि मात्र संसद्मा टेबल गरिने प्रतिबद्धता व्यक्त गरेको एक सांसदले बताए ।
प्रतिक्रिया