कुशे औँसीमा बुबाको मुख हेर्ने जस्तै फादर्स डे र डिया डो पाइ पनि

काठमाडौँ, २१ भदौ । नेपाल सम्बत अनुसार भाद्र कृष्ण औँसीका दिन नेपालीहरु दिवङ्गत पितृका नाममा तर्पण, सिदा दान र पिण्ड दान र बुबाको मुख हेर्ने र कुश ग्रहण गरेर यो कुशे औँसी मनाउँछन् । औँसी अर्थात अमावस्याका दिन आफ्ना वितेका बुबाहरुको सम्झनामा हिन्दुहरु गोकर्णेश्वर महादेव मन्दिर जान्छन् भने बौद्ध धर्मालम्बीहरु जन बहाल (सेतो मन्छिद्रनाथ) मा जाने गर्दछन् ।


दिवङ्गत पितृका नाममा गरिने तर्पण, सिदादान र पिण्डदान आज र बाबुको मुख हेर्ने र कुश ग्रहण गर्ने कर्म मङ्गलबार गर्नुपर्ने छ । अपराह्नमा औँसी भएका दिन श्राद्ध गर्नुपर्ने शास्त्रीय मान्यताअनुसार यस्तो निर्णय भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।


समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले आज बिहान ६ः५६ मिनेटसम्म चतुर्दशी तिथि र त्यसपछि औँसी भएकाले अपराह्नकालमा औँसी तिथि परेको बताए । सूर्योदयमा औँसी भएका दिन स्नान, दान आदि कर्म गर्ने, हलो बार्ने, बाबुको मुख हेर्ने आदि पर्व मनाउनुपर्ने शास्त्रीय विधिका आधारमा यी कर्म भदौ २२ गते मङ्गलबार गर्नुपर्ने समितिले स्वीकृति दिएको पञ्‍चाङ्ग (पात्रो) मा उल्लेख छ । मङ्गलबार बिहान ६ः२५ सम्म औँसी तिथि रहेको पनि जानकारी दिएका छन् ।


परम्परागत रूपमा काठमाडौं उपत्यकामा, दक्षिण–पश्चिमी कुना महिला र महिला सम्बन्धी अनुष्ठानका लागि आरक्षित छन्, र उत्तर–पूर्वी पुरुष र पुरुष सम्बन्धी अनुष्ठानका लागि हो । सोही अनुसार माता तीर्थ औंसीको पूजा स्थल उपत्यका को दक्षिण–पश्चिमी माता–तीर्थको रुपमा अवस्थित छ, भने गोकर्ण औंसी को पूजा स्थल उत्तर–पूर्वीमा रहेको छ । यस अनुसार महिलालाई आधा आकाश भनेझै परम्परागत शैलीमा आधा जमिन पनि दिइएको देखिन्छ ।


त्यसैगरी छिमेकी मुलुक चाईनामा कुनै आधिकारिक फादर्स डे (बुवा दिवस) नभएता पनि सीमित क्षेत्र हङकङ तथा मकाउका केही व्यक्तिहरु संयुक्त राज्यको परम्परा अनुसार जूनको तेस्रो आइतबारमा डिया डो पाई अर्थात फादर्स डे मनाउँछन् तर सार्वजनिक विदा भने हुँदैन ।


अर्का छिमेकी मुलुक भारतमा भने पश्चिमी प्रभावका कारणले जूनको तेस्रो आइतबार फादर्स डे मनाउँने चलन आएको छ । यो दिन सार्वजनिक बिदा नदिएता पनि हैदराबाद, चेन्नई, मुम्बई, अहमदाबाद, नयाँ दिल्ली, बेंगलुरु, कोलकाता, पुणे र अन्य जस्ता ठूला शहरहरुमा मनाईन्छ ।


साथै क्यानडा, अष्ट्रेलिया, बङ्गलादेश, ब्राजिल लगायत अन्य केही देशहरुमा ग्रान्डफादर्स डे अर्थात हजुरबुबा दिवस पनि मनाउने चलन रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति