काठमाडौं, २१ भदौ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको हो कि भन्ने गुनासो सुनिन थालेको बताएका छन्। गृह मन्त्रालयले लगातार दुई विज्ञप्ति निकालेको प्रसंग निकाल्दै सिंहले नागरिकको गुनासो सुन्ने हिम्मत सरकारले राख्नुपर्ने बताए।
आज कांग्रेस सिन्धुपाल्चोकले काठमाडौंमा गरेको अन्तर्क्रियामा बोल्दै सिंहले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारले अंकुश लगाउन नमिल्ने बताए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेकोमा त्यसो नगर्न गृहले विज्ञप्ति निकालेर चेतावनी दिएको थियो।‘सरकारले जनताको दुस्खमा साथ दिनुपर्ने हो। सधैं जनताको पक्षमा सरकार हुनुपर्ने हो। गृह मन्त्रालयबाट नागरिकले प्रदर्शन गर्न र विरोध नै गर्न नपाउने वा बोल्नै नपाउने जस्तो गरी विज्ञप्ति निकाल्नु आपत्तिजनक छ। यसमा सरकार सच्चिनुपर्छ,’ उनले भने। उनले १४ औं महाधिवेशनबाट पार्टी नेतृत्व परिवर्तन हुनुपर्ने बताए। सिंह पनि महाधिवेशनमा सभापति पदमा उठ्ने तयारी गरिरहेका छन्।
प्रतिक्रिया