भू–माफियाबाट धर्मपुर (बोडे) को कमलपोखरीको मात्र हैन ऐतिहासिक सम्पदाको संरक्षणः स्थानियवासी

काठमाडौं, २० भदौ ।  काठमाडौ उपत्यकाको चौथौ ठूलो सहर मध्यपुर थिमि–७ धर्मपुर (बोडे) मा अवस्थित रहेको ४ सय १० मिटर परिधी भएको १२ रोपनी ८ आनामा फैलिएको सुन्दर कमलपोखरी वि.सं. २०२१ भन्दा अगाडि नै अस्तित्वमा रहेको थियो । यो पोखरीलाई सँगै रहेको कुमारी मन्दिरमा बस्ने पोडेहरुलाई पञ्चायतको पालामा भोग चलनका लागि दिइएको । भोगचलन गर्न दिए पनि स्थानियवासीहरुले सार्वजनिक रुपमा उपयोग गरेका थिए । २०३५ साल पछि भोग चलन गर्न दिएको पोखरीको जग्गा आफ्नो नाममा ल्याई वेच विखन गरेको स्थानियबासीहरु बताउछन् ।

सरसफाइ पछिकाे पाेखरी
सरसफाइ अगाडिको कमलपाेखरी


पोडेहरुले बेचेको पोखरी भएको जमिन पटक–पटक स्थानियको बचाउन पहल गरेका कारण आज पोखरीको भएको जमिन अस्थित्वमा रहेको छ ।

पटक पटक भुमाफियाहरुको चंगुलबाट बचाएको पोखरीलाई हाल आएर नगरपालिकाले समेत जगर्ने गर्न ध्यान दिएइको छ । पटक पटकको मुद्धामामिला पछि जिल्ला अदालत भक्तपुरद्वारा यो जग्गा सार्वजनिक हो भन्ने फैसला भएता पनि यो मुद्दा पुनरावेदन अदालत, ललितपुर विचारधीन रहेको छ । अहिले सफा अनि रमणिय देखिएको पोखरी पहिले फोहोरको थुप्रो रहेको थियो । वरिपरिको बस्तीको फोहोर व्यवस्थापनको सही तरिकाले नहुँदा त्यसको असर यस पोखरीले व्यहोर्नु परेको थियो । तर हाल नगरपालिकाले फोहोर व्यवस्थापनमा ध्यान दिएको कारणले समस्या नभएको स्थानीय बताउछन् ।

फोहोर व्यवस्थापनका साथै सम्पदा पुनर्निमाणमा पनि नगरपालिका अगाडि बढेका कारण यस पोखरीले पुनः जीवन्त रुपमा पाएको छ । यस क्षेत्रका स्थानीयवासीद्वारा पाँच दल सहित कमलपोखरी संरक्षण समिति गठन गरेका छन् । वि.सं. २०२१ सालमा कान्छी पोडे नामका व्यक्ति लाई पञ्चायती व्यवस्थाद्वारा जोत पञ्चायत र पोत कान्छी पोडे भनेर राखी सार्वजनिक जग्गा व्यक्तिको नाममा राख्‍ने काम भएको स्थानियबासी कृष्ण बहादुर होनाले बताए । त्यस अनुसार पञ्‍चायतले उनलाई बाली तिर्नपर्ने भयो । वि.सं. २०४६ सालको आन्दोलन पश्‍चात एकजना सचिवले जोत–पोत नै कान्छी पोडेको हो भनेर सिफारिस गरे । कान्छी पोडेले पछि २०५१ सालमा त्यो पोखरी भएको जग्गा ग्याल्पा गुरूङलाई बेचेको उनले बताएका छन् ।

पाेखरीसँगै रहेकाे ढुङ्‍गेधारा पुनर्निमाण पश्‍चात


यो पोखरी पनि पञ्चायती व्यवस्थामा पञ्‍चायतले कान्छी पोडेलाई रेखदेखका लागि राखेको र उनीहरु माछा पाल्ने, अनि कुमारी मन्दिरमा बस्‍ने गर्दथे । कान्छी पोडे विभिन्‍ने चाडपर्वमा घर–घरमा माछा दिएर भोज लिने गरेको पनि बताए । पोखरीको पानी कहिले सुक्ने होइन जहिले पनि चार–पाँच फिट रहि नै रहने हो, त्यहाँको जग्गा कान्छी पोडेको नाम भएर केही हुन्‍न भनेर हाम्रो बाउ–बाजेले छोडि दिएकै भएर अहिले यो दिन देख्नु परेको उनले भने ।

अहिले यो पोखरीमा पानी वर्खामा केही मात्रामा भएता पनि जाडोयाममा पानी सुक्ने भएकाले पनि पोखरी रहेको जग्गा विक्री भएको अनुमान उनको रहेको छ । सार्वजनिक जग्गाहरु पहिले निश्‍चित व्यक्तिलाई संरक्षणका लागि दिईएको कारणले नै यो समस्या आएकाले अब हामीले सार्वजनिक सम्पतिका लागि संरक्षण समिति नै बनाएर यस्ता सम्पदाहरुको जगेर्ना गर्नुपर्ने बताउछन् ।

वि.सं. २०५१ मा आफुले किनेको जग्गा भन्दै ग्याल्पा गुरुगले पोखरी पूर्न आएको समयमा स्थानीयबासीले विरोध गरेका थिए । विरोध पछि पोखरी उक्त जग्गा आफुले किनेको स्थानियले पुर्न नदिएको भन्दै जिल्ला अदालतमा मुद्दा हालेका थिए । स्थानीयहरुले पनि यो सम्पदा मासिन दिन हुन्‍न भन्‍ने निर्णय गरी सबै मिलेर लिखत बदर मुद्दा गरे । दुईचोटी मुद्दा हारी सकेपछि त्यही वोडेका एक स्थानीय बाबुराजा जोशीको सल्लाहमा फेरी बदर मुद्दा राखियो र जितिएको होनाले बताए ।

जिब्राे छेड्ने जात्रा हुने स्थान, गणेश मन्दिर


हाल यस पोखरीको पुनर्निमाण नगरपालिका सहयोगमा सुरू भएर ७० प्रतिशत कार्य सम्पन्न भएको जानकारी दिए । बाँकी ३० प्रतिशत काम पनि चाँडै सक्काउने लक्ष्य रहेको बताए । पोखरीको बीचमा कमलको फूल रोपिएको साथै अब त्यस पोखरीमा वरिपरि पर्खाल राख्‍न र पोखरी सयरका लागि डुङ्गा पनि राखिने जसले आन्तरिक तथा वाह्‍य पर्यटनमा पनि सहयोग पुग्‍ने विश्‍वास उनले बताए ।

यस पोखरीको ऐतिहास महत्व रहेको उनी बताउँछन् । यस कमलपोखरीमा फुलेको कमलको फूल वोडेको प्रसिद्ध निलबाराही नाचको पुजामा पहिले पनि प्रयोग हुने गरेको उनले बताए ।

पोखरीसँगै रहेको कुमारी मन्दिर तथा गणेश मन्दिर वरिपरी पनि सरसफाईका साथसाथै विभिन्‍न संरचनाको निमार्ण पनि गरिएको छ । गणेश मन्दिर नजिकै हरेक वर्ष बैशाख २ गते जिब्रो छेड्ने जात्रा हुने गरेको र त्यहाँ ठाँउको अभाव रहेकोमा आठ आना जग्गा खरिद गरिएको पनि जानकारी दिए । अब त्यहाँ जात्राको अवलोकनका लागि पर्याप्त ठाँउ हुने उनले बताए ।

पाेखरीसँगै रहेकाे कुमारी मन्दिर


यी ऐतिहासिक सम्पदाहरु अहिले हामी पुरातात्विक रुपमा महत्वपूर्ण मानिरहेका छौ, तर पहिले–पहिले समुदायका मानिसहरुले दैनिक प्रयोजनका लागि बनाएका थिए ।

पछि घरमा पानीको सुविधा भएपछि पोखरीको प्रयोग कम भयो । पोखरीले पनि वनजंगलले जसरी नै वरिपरिको वातावरणलाई शितल बनाउने धारणा रहेको छ ।

परापूर्व कालमा मानिसहरु यस्ता पोखरी, पाटीपौवा, मन्दिर लगायत अन्य संरचनाका लागि आफ्नो जग्गा दान दिने चलन पनि रहेको थियो। तर हाल आएर त्यही दान दिएको जग्गाहरु उनीहरुकै नाति–पनातिहरुले आफ्नो नाममा दर्ता गरी विक्रि गर्ने गरेका छन्, यसको प्रमुख कारण जग्गाको बढ्दो मूल्यलाई पनि लिन सकिन्छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति