बागमती प्रदेश सरकार अल्पमतमा : मुख्यमन्त्री शाक्य हेर र पर्खको रणनीतिमा

काठमाडौं, २० भदौ । बागमती प्रदेश सरकार अल्पमतमा पर्ने भएपछि एमाले उपाध्यक्ष तथा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य सत्ता बचाउने लक्ष्यका साथ आफ्नो रणनीति बनाउन जुटेकी छिन् । उनी तत्काल विश्वासको मत नलिने र राजीनामा पनि नदिने मनस्थितिमा पुगेकी छन् । केन्द्रमा एमालेको आधिकारिक विभाजनपछि बागमतीका पनि १३ सांसद माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) तिर लागेपछि प्रदेशमा विभाजनले सरकारअल्पमतमा पर्ने निश्चित भएको हो ।

लामो समय माधवकुमार नेपाल पक्षमा खुलेकी मुख्यमन्त्री शाक्य एकाएक क्याम्प परिवर्तन गर्दै संस्थापनबाट मुख्यमन्त्री बनेकी हुन् । तर शाक्यलाई साथ दिने ठानिएका सांसदहरु नै समाजवादीमा सामेल भएपछि उनलाई सरकार टिकाउन ठुलो चुनौतीको सामना गर्नुपर्ने देखिएको हो । अब मुख्यमन्त्री शाक्यले तत्काल राजीनामा नदिने, विश्वासको मत पनि नलिने नलिने बताएकी छिन् । आइतबार हेटौंडामा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै मुख्यमन्त्री शाक्यले हाल नेकपा एमाले आधिकारिक रुपमा विभाजन भएर नयाँ पार्टी नेकपा एकीकृत समाजवादी गठन भएको र आगामी २२ गतेसम्म सनाखतको समय रहेकाले तत्काल विश्वासको मत नलिने बताएकी हुन् ।

उनले नेकपा एमाले विभाजनपछि १३ जना सांसद्हरु नेकपा एकीकृत समाजवादीमा गएको तथा सो पार्टी नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेससँग गठबन्धनमा सहभागि हुने भएकाले विपक्षी दलले अपनाउने कदमका आधारमा आफ्नो रणनीति तथा योजनाहरु संचालन गर्दै जाने बताइन् । ‘हामी तत्काल विश्वासको मत लिने सोचमा छैनौं । नेकपा एमाले विभाजन १३ जना सांसद् नयाँ पार्टीमा लाग्नुभएको छ । उहाँहरु विपक्षी गठबन्धनमा सहभागी हुने देखिएको छ । उहाँहरुले चालेको कदमपछि हामी हाम्रो योजनाहरु कार्यान्वयन गर्छौ,’ उनले भनिन् ।

उनले प्रतिपक्षको प्रस्तुति अनुसार नै आफू अगाडि बढ्ने भन्दै विपक्षी दलका नेतासँगको विगतको सम्बन्धका आधारमा सहमती र सहकार्यको गृहकार्य गर्ने बताइन् । एमालेको विभाजनपछि बागमती प्रदेशसभाको समीकरणमा फेरबदल आएको छ । बागमती प्रदेशमा हाल कायम रहेका १०९ जना सांसदमध्ये नेकपा एमालेका ५६ सांसद थिए । एमाले विभाजनपछि १३ सांसदले नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराइसकेका छन् ।

जसका कारण नेकपा एमाले ४३ सांसदमा खुम्चिएको छ ।योसँगै स्पष्ट बहुमतका रहेको नेकपा एमालेको सरकारले बहुमत गुमाएको हो ।प्रदेशसभामा नेकपा माओवादी केन्द्रका २३ जना, नेपाली काँग्रेसका २२ जना, विवेकशील साझाका ३ जना, राप्रपा र नेमकिपाका २÷२ जना र एक स्वतन्त्र सांसद् छन् । शाक्यलाईं सत्ता बचाइराख्न ५५ जना सांसदको समर्थन जुटाउन असम्भव जस्तै देखिन्छ । पछिल्लो समीकरण अनुसार एकीकृत समाजवादीका १३, माओवादीका २३ र काँग्रेसका २२ गरी ५७ सांसद रहेका छन् ।तीन दल मिल्दा ५८ जना सांसदको समर्थनसहित गठबन्धनले प्रदेश सरकार गठन गर्न सक्ने देखिएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति