काठमाडौँ, २० भदौ । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको मूल बाटोमा रहेका नेताहरूलाई विभिन्न आरोप लगाउँदै कारबाही गर्ने चेतावनी दिएकोमा यो हास्यास्पद भएको प्रतिक्रिया दिएका छन्। विवेकशीलका अध्यक्ष मिश्रको अध्यक्षतामा बसेको केन्द्रीय समितिको बैठकले पार्टीमा समानान्तर गतिविधि नगर्न र गरे कारबाही गर्ने चेतावनी दिएको थियो। भदौ १७ गते बिहीबार अध्यक्ष मिश्र र संयोजक पाण्डेले छुट्टाछुट्टै केन्द्रीय समिति बैठक गरेका थिए।आज विज्ञप्ति निकालेर संयोजक पाण्डेले आफूहरूले समानान्तर गतिविधि नगरेको बताएका छन्।
‘रवीन्द्रजीले पार्टीको मूल बाटोमा रहेका नेताहरूलाई विभिन्न आरोप लगाउँदै कारबाही गर्ने चेतावनी दिनुभएको छ। यो हास्यास्पद छ,’ संयोजक पाण्डेले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको विधान र घोषणापत्रमा टेकेर गरिने कुनै पनि गतिविधि समानान्तर गतिविधि होइनन्। समानान्तर गतिविधि भनेको पार्टीको घोषणापत्र र विधान अनुरूप काम नगर्नु हो। हो पक्कै पनि, समानान्तर गतिविधि गर्नेलाई कारबाही गर्नुपर्छ। पार्टीको लाइनभन्दा बाहिर गएर वक्तब्य बाजी गर्नेलाई प्रश्न गर्नुपर्छ। तर त्यसलाई लागि कसले समानान्तर गतिविधि गरेको छ भन्ने कुरा बुझ्न जरुरी छ। अब त त्यो बुझ्न कठिन पनि छैन।’

प्रतिक्रिया