सुर्खेत , १६ भदौ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सुर्खेतको काल्चे पुगेर लोपउन्मुख राउटे समुदायसँग भेट तथा अवस्था अवलोकन गरेका छन्।
कार्यक्रमको सिलसिलामा सुर्खेत आईपुगेका अध्यक्ष तिमिल्सिनाले सुर्खेत र सल्यान जिल्लाको सिमानामा पर्ने गुर्वाकोट नगरपालिकाको काल्चेमा मंगलबार पुगेर राउटे समुदायको अवस्था र समस्या बुझन राउटे बस्तीमा पुगेका हुन । घुमन्ते राउटे बस्तीमा पुगेर अध्यक्ष तिमिल्सिनाले समुदायको संस्कृति र परम्पराको संरक्षण गर्दै बासस्थान, स्वास्थ्य, शिक्षा र आत्मनिर्भर बनाउनेतर्फ जोड दिनुपर्ने बताए ।
सरकारले दिएको राहत वा विभिन्न तरिकाले आउने आर्थिक सहयोगले मात्रै यो समुदायको उन्नती हुँदैन, उनले राउटे समुदायका मुखियासहितको टोलीसँग भने, राज्यले स्थायी बसोबासको व्यवस्था गर्दा एकठाउँमा बस्ने, सरसफाइ तथा स्वास्थ्यमा ध्यान दिनुपर्छ। राउटे समुदायलाई राज्यबाट आउने सहयोग पर्याप्त भएपनि त्यसको उचित प्रयोग र व्यवस्थापन नभएसम्म उनीहरुको अवस्थामा सुधार नहुने बताए । कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीसहितको टोलीसँग त्यहाँ पुग्नुभएका अध्यक्ष तिमिल्सिनाले राउटे समुदाय व्यवस्थित बस्ती बनाएर एकठाउँ बस्न तयार भए सरकार समक्ष आफूले पहल गर्ने बताए ।




प्रतिक्रिया