काठमाडौँ, १५ भदौ । गणतन्त्र कोरिया सरकारले नेपाल सरकारलाई ९४ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) मार्फत ३७८ थान अक्सिजन कन्सन्ट्रेटर नेपाललाई प्राप्त हुने भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज अपराह्न आयोजित एक सङ्क्षिप्त कार्यक्रममा नेपालका लागि कोरियाका राजदूत पार्क चोङ सुकले स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई ती उपकरण हस्तान्तरण गरे । आगामी एक महिनाभित्रमा बाँकी उपकरण नेपाल सरकारलाई हस्तान्तरण गरिने यहाँस्थित कोरियाली राजदूतावासले बताएको छ।
कोभिडको महामारीविरुद्धको नेपाल सरकारको लडाइँमा सघाउन सहायतास्वरुप उपलब्ध गराइने तीनसय ७८ थान अक्सिजन कन्सन्ट्रेटरमध्ये स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त, नेपाल–कोरिया मैत्री अस्पताल, त्रिशूली अस्पताल, काठमाडौँ विश्वविद्यालय, धुलिखेल अस्पताल, टीकापुर र मुगु अस्पतालका निम्ति पनि ती उपकरण प्रदान गर्ने योजना रहेको दूतावासले जनाएको छ । आजै कोरियमा उच्च शिक्षा हासिल गरेका नेपालीको सङ्गठन ‘कोइका कानले’ काभ्रेपलाञ्चोकस्थित मेथिनकोट अस्पताललाई तीन थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ ।
प्रतिक्रिया