काठमाडौं, १३ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच आइतबार बिहान सरकारी निवास बालुवाटारमा छलफल भएको छ । प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीचको भेटमा मन्त्रीपरिषद् विस्तार सम्बन्धमा छलफल भएको जनाइएको छ । शीर्ष तीन नेताको बैठक सम्पन्न भएको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए। यसअघि नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको दल दर्ता लगायतको वैधानिक प्रक्रिया भए लगत्तै मन्त्रीपरिषद् विस्तारले पूर्णता पाउने सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले बताउदै आएका थिए। माधवकुमार नेपाल नेतृत्वको नेकपा (एस) ले निर्वाचन आयोगबाट दलको आधिकारिकता प्राप्त गरिसकेको छ । यसैगरी, जसपाबाट विभाजित महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजावदी पार्टी (लोसपा) ले पनि दलको आधिकारिकता प्राप्त गरिसकेको छ । यससँगै प्रधानमन्त्री देउवा सरकार मन्त्रीपरिषद् विस्तारलाई पूर्णता दिने जोडमा रहेको जनाइएको छ ।
देउवा, प्रचण्ड र माधव नेपालबीच छलफल, भोलि मन्त्रिपरिषद् विस्तार गर्ने
प्रतिक्रिया