काठमाडौं, १० भदौ । सरकारले कोभिड-१९ र हैजा विरुद्धको एक-एक वटा खोपलाई क्लिनिकल ट्रायलको लागि अनुमति दिएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले हैजा विरुद्धको ओरल कोलेरा भ्याक्सिन र कोरोना भाइरसविरुद्धको सार्कोभ टु–एमआरएनए खोपलाई तेस्रो चरणको क्लिनिकल ट्रायलको अनुमति दिइएको सरकारका प्रवक्ता तथा कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
स्वास्थ्य अनुसन्धान परिषदले (एनएचआरसी) क्लिनिकल ट्रायलको लागि ३ वटा खोप सिफारिस गरेको थियो । जसमध्ये इन्टरनेशनल भ्याक्सिन इन्स्टिच्युटको सहकार्यमा गर्न लागिएको कोलेरा भ्याक्सिन र चीनमा उत्पादन भएको कोरोनाको भ्याक्सिनले अनुमति पाएको हो ।
एनएचआरसीका सदस्य सचिव डा। प्रदीप ज्ञवालीका अनुसार चीनको वालभ्याक्स बायोटेक्नोलोजी कम्पनीले बनाएको भ्याक्सिनको ट्रायल ३ हजार जनामा गरिनेछ । वालभ्याक्स बायोटेक्नोलोजीले नेपालको औषधि उत्पादक कम्पनी देउराली जनता फर्मास्युटिकल्ससंगको सहकार्यमा गर्ने ट्रायल धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिनेछ ।
त्यसैगरि हैजाविरुद्ध खोपको ट्रायल कान्ति बाल अस्पताल र काठमाडौं विश्वविद्यालयमा हुनेछ । ‘हामीसंग धेरै कम्पनीले ट्रायलको लागि प्रस्ताव गरेका थिए जसमध्ये हामीले ३ खोपलाई सिफारिस गरेका थियौं’ सदस्य सचिव डा। ज्ञवालीले भने ।
सरकारले ट्रायल अनुमति दिएको एमआरएनए खोप भनेको के हो ?
उनका अनुसार यो खोपको तेस्रो तहको परीक्षण हो । खोपको ट्रायलपछि चिनियाँ कम्पनीले नेपालमै उत्पादन समेत गर्ने तयारी गरेकोले पनि हामी यसमा सकारात्मक भएका हौं,उनले भने, यसअघिको मन्त्रिपरिषद बैठकले नेपालमा खोप उत्पादनका लागि आवश्यक कार्यविधि पनि पारित गरिसकेको छ ।
कोरोनाको एमआरएनए खोपसँगै मन्त्रिपरिषदले परीक्षण अनुमति दिएको हैजाको खोपको ट्रायल भने दक्षिण कोरियास्थित इन्टरनेसनल भ्याक्सिन इन्स्टिच्युट (आईभीआई)ले गर्न लागेको हो । इन्स्टिच्युटले यसअघि पनि नेपालमा धेरैवटा खोपको ट्रायल गराइसकेको छ । केही समय अघि कोरोना खोपकै पनि ट्रायलका लागि इन्स्टिच्युटले प्रयास गरेको थियो ।
प्रतिक्रिया