काठमाडौं, ९ भदौ । नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरु अनशनमा बस्ने भएका छन् । क्रियाशील सदस्यको नामावली सार्वजनिक गर्नुपर्ने लगायतका तीन बुँदे माग राख्दै बुधबारदेखि जिल्ला सभापतिहरुले २४ घण्टे रिले अनशन सुरु गर्न लागेका हुन् ।पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार धर्नामा बसेका जिल्ला सभापतिहरुले पार्टीलाई थप दबाब दिन रिले अनशन सुरु गर्न लागेको नुवाकोट जिल्लाका सभापति जगदिश्वर नरसिंह केसीले जानकारी दिए । केसीका अनुसार बुधबार तीन जिल्ला सभापति अनशनमा बस्नेछन् । नुवाकोट जिल्ला सभापति केसीसहित काभ्रेका मधु आचार्य र धादिङ जिल्ला सभापति रमेश धमला पहिलो दिन रिले अनशनमा बस्ने छन् ।प्रत्येक दिन नयाँ तीन जिल्ला सभापति अनशनमा बस्ने केसीले जानकारी दिए । ‘जबसम्म हाम्रा मागबारे सम्बोधन हुँदैन, तबसम्म अनशन जारी रहन्छ,’ सभापति केसीले भने, ‘यो जिल्ला सभापतिको माग होइन, देशभरका क्रियाशील सदस्यको भावनाको प्रतिनिधित्व हामीले गरेका हौं ।’कांग्रेसले १४ औं महाधिवेशन मंसिर ९ देखि १३ सम्म गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको । वडा अधिवेशन आउन १० दिन पनि बाँकी नरहेका बेला निर्वाचन समितिले क्रियाशील सदस्यताको अन्तिम सूची पाएको छैन । पार्टी सभापति शेरबहादुर देउवाले सदस्यता सूची निर्वाचन समितिलाई बुझाएपछि नामावली सार्वजनिक गर्ने तयारी छ ।
रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरु अनशनमा बस्ने
प्रतिक्रिया