नेपाल र ठाकुर नेतृत्त्वको दल दर्ता आज : बिहान ११ बजेदेखि सनाखत

काठमाडौं, ९ भदौ । माधवकुमार नेपाल नेतृत्त्वको ‘नेकपा एकीकृत समाजवादी’ र महन्थ ठाकुर नेतृत्त्वको ‘लोकतान्त्रिक समाजवादी पार्टी’ले आज निर्वाचन आयोगमा दल दर्ता गराउने तयारी गरेका छन् ।

आयोगले आजैका लागि सनाखत गर्न बोलाएकाले सनाखतपछि दल दर्ता गर्ने नेताहरूको तयारी छ । आयोगले पनि सनाखतसहितका सबै काम टुंग्याएर दल दर्ता गराउने तयारी गरेको छ ।

आयोगले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिँदा नाम समावेश गरेका पदाधिकारी र केन्द्रीय सदस्य तथा सांसदहरूलाई बुधबार ११ बजेबाट २ बजेसम्म सनाखत गर्न बोलाइएको जनाएको छ ।

आयोगले नयाँ दल दर्ताको प्रक्रियामा आवश्यक पर्ने कानुनी व्यवस्थाअनुसार दुवै दलकातर्फबाट दल दर्ताका लागि निवेदन दिँदा पक्षमा रहेर हस्ताक्षरसहित नाम बुझाएका केन्द्रीय सदस्य र सांसदलाई सनाखतमा हाजिर हुन भनेको हो ।

केन्द्रीय सदस्यलाई नागरिकता वा मतदाता परिचयपत्र र सांसदलाई संसद् सचिवालयले जारी गरेको परिचयपत्रसहित आयोगमा सनाखतका लागि बोलाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

नेपालको प्रस्तावित दलमा पुरानो दल एमालेबाट ५७ जना केन्द्रीय सदस्यको नाम बुझाइएको छ । त्यसमध्ये ५५ जनाले मात्रै हस्ताक्षर गरेका छन् । अध्यादेशअनुसार एमालेको केन्द्रीय कमिटीको कुल २ सय ३ संख्यामध्येको २० प्रतिशत अर्थात् ४१ जना जना सदस्य नयाँ दल खोल्न नेपाल समूहले आयोगमा पुर्‍याउनु पर्ने हुन्छ ।

यस्तै, नयाँ थपसहित नेपालले नेतृत्व गर्ने दलमा १ सय १५ जना केन्द्रीय सदस्य प्रस्ताव गरिएको छ ।

यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टी नामको दलमा ३१ जना कार्यकारिणी सदस्यको नाम बुझाइएकोमा २९ जनाको मात्रै हस्ताक्षर छ । आयोगले निवेदनमा हस्ताक्षर गर्नेलाई मात्रै सनाखत गर्ने जनाएको छ ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा भएको संशोधनअनुसार निर्वाचन आयोगले गत बिहीबार नियमावली संशोधन गरिसकेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति