चन्द्रागिरि पुगेपछि माधव नेपालले खुलाशा गरे नयाँ पार्टी खोल्नुको रहस्य

काठमाडौं, ८ भदौ ।   प्रस्तावित नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टीमा ढोका बन्द गरिदिएपछि बाध्य भएर नयाँ पार्टी खोल्नु परेको बताए ।

अध्यक्ष नेपालले मंगलवार चन्द्रागिरिमा सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गरेको र आफूहरूलाई पार्टीबाट निष्काशन गरेका कारण बाध्य भएर नयाँ पार्टी खोल्नुपरेको बताएका हुन्।

आफूसहित १४ सांसदलाई पार्टीबाट निष्काशन गरेपछि आफूहरूसँग नयाँ पार्टी दर्ता गर्नुको विकल्प नरहेको उनले बताए। ‘अब केपी ओलीले एकलौटी पार्टी कब्जा गर्ने स्थिति बनिसकेपछि, त्यहाँ जाने ढोका बन्द भइसकेपछि, त्यसमा पनि १४ जना सांसदलाई पुरै पार्टीबाट निष्काशन गरिसकेपछि, हामीलाई पनि पार्टीबाट पुरै निष्काशन गरिसकेपछि हाम्रो सामू अरू कुनै विकल्प बाँकी रहेन। निष्काशित भइसकेपछि हामीले कि त घुँडा टेक्नुपथ्र्यो, चुप लागेर सडकमा बस्नुपथ्र्यो, कि त हामीले अर्को क्रान्तिकारी पार्टी निर्माण गरेर हाम्रो नेपाली राजनीतिको, कम्युनिष्ट आन्दोलनको इतिहासमा विद्रोहीहरुले नै सफलता हासिल गरेको विगतको इतिहास, दक्षिणपन्थी अवसरवाद पराजित गरिएको त्यो इतिहासलाई हामीले साक्षि राखेर नयाँ कदम चाल्ने काम गरेका छौँ । र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) नामको पार्टी दर्ता गरेका छौँ,’ नेता नेपालले भने।

अध्यक्ष नेपालले आफूहरूसँग एमाले विभाजनका लागि आवश्यक २० प्रतिशत संख्या भन्दा बढी केन्द्रीय कमिटी र संसद दुवैतिर पुग्ने दाबी पनि गरे। उनले एमाले एकीकृत बनाउन भन्दै वार्तामा जुटेका र वार्तामा नजुटि भूमिका खेलेका नेतासँग पनि एकतावद्ध भएर जाने कोसिस गरिरहेको उल्लेख गरे। केपी ओली र आफूहरूको कित्ता छुट्टीएको उल्लेख गर्दै उनले आगामी दिनमा अन्य वामपन्थी पार्टीसँग चुनावी तालमेल गर्न तयार रहेको बताए।

‘चाहे वार्तामा जुट्नुभएका कमरेडहरु हुनुहोस् । चाहे वार्तामा नजुटेर पनि भुमिका खेल्नुभएका कमरेडहरु हुनुहोस्। सबै मिलेर हामी एकतावद्ध भएर जाने कोसिसमा छौं। अब केपीको कित्ता एकातिर भएको छ र अर्को क्रान्तिकारी कित्ता अर्कोतिर भएको छ। कम्युनिष्ट पार्टीको पुर्नगठनको नयाँ अभियान सुरु भएको छ । यो पुर्नगठित कम्युनिष्ट पार्टीले अब अरु वामपन्थी पार्टीहरुसँग भोलि चुनावी तालमेल पनि गर्नेछ र अरू लोकतन्त्रको रक्षाको लागि, संविधान, राष्ट्रियता, संघीयताको रक्षाका लागि, समाजवादको दिशामा अघि बढ्नका लागि सोच र मान्यताका साथ हामी अगाडि बढेका छौं,’ उनले भने।

अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीको विचार र धारणामा परिवर्तन आएमा पार्टी गठन गर्ने बित्तिकै ओलीसँग पनि एकताको निम्ति तयार रहेको बताए। उनले आफूहरूलाई पार्टी गठन गर्न नदिएर घर न घाटको बनाउने षडयन्त्र भएको भन्दै षडयन्त्रलाई चिरेर पार्टी निर्माण गर्ने पनि बताए।

‘भोलि पनि कम्युनिष्ट पार्टीलाई एकतावद्ध बनाउने, स्वयम् नेकपा (एमाले) को केपी ओलीको जुन समूहमा पनि विचारको परिवर्तन भयो भने, धारणामा परिवर्तन भयो भने ढोका सधैँ खुल्ला छ। हामीले पार्टी गठन गर्ने बित्तिकै पनि एकताको निम्ति हामी तयार हुन्छौं’, उनले भने, ‘तर यो गठन गर्नै नदिइकन हामीलाई अलपत्र पार्ने षडयन्त्र भइरहेको छ। हामीलाई घर न घाटको बनाउने षडयन्त्र भइराछ। न यता जान दिने न उता जान दिने। न केपी ओलीको गतिविधिलाई अन्त्य गर्ने, रोक्ने, केही पनि नगर्ने अनि त्यसपछि यो मौका समाप्त गर्दिने। अनि हामीलाई सबै किसिमको आन्दोलनबाट बञ्चित पार्ने खालको षडयन्त्रलाई हामि चिर्छौ। र चिरेर एकताको अभियानलाई निरन्तरता दिँदै जानेछौँ । कम्युनिष्ट आन्दोलनलाई पुर्नगठित गर्ने, एकतावद्ध बनाउने यो अभियान जारी रहनेछ।’

उनले बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य आफूसँग सल्लाह गरेर नै मुख्यमन्त्री बनेको बताए। आफ्नो सल्लाहमा मुख्यमन्त्री बनेको भए पनि नयाँ पार्टी गठन पछाडि प्रदेश र स्थानीय तहको जनप्रतिनिधिले २१ दिनभित्र राजनीतिक पार्टी रोज्न पाउने कुरा उल्लेख गर्दै उनले शाक्य कुन पार्टी रोज्नुहुन्छ सोही आधारमा बागमती प्रदेश सरकारलाई आफूहरूले हेर्ने बताए।

‘अष्टलक्ष्मी कमरेडको बारेमा मेरो सल्लाहले नै उहाँ हुनुभएको हो । मेरो सहमती लिनुभएकै हो । तर उहाँ पनि अप्ठ्यारोमा हुनुहुन्छ । अहिले त हुनुभयो, जब पार्टी अलग बनिसकेपछि एउटा पार्टी रोज्नुपर्ने अवस्था बन्छ । अब उहाँमाथि भरपर्ने कुरा हो । म धेरै अहिले भन्न चाहान्नँ । अब त्यो नयाँ पार्टी बनिसकेपछि २१ दिन भित्रमा कुन पार्टी रोज्ने भन्ने हुन्छ । त्यो समयभित्र उहाँ कता रोज्नुहुन्छ त्यसको आधारमा अनि त्यो सरकारलाई हामीले कसरी हेर्ने भन्ने तय हुनेछ । अहिले मेरै सहमती बाट नै, मेरो अनुमति बाट नै पनि उहाँ जानुभएको हो,’ उनले भने।

नेपालमा समाजवादी केन्द्र बनाउने बहसबीच पार्टीको नाम समाजवादी राखेको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष नेपालले आफूहरुले कम्युनिष्ट पार्टी नत्याग्ने स्पष्ट पारे। नेपाल कम्युनिष्ट पार्टीको नामलाई त्याग्ने कसैसँग पनि एकता सम्भव नभएको उनले बताए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति