नेपालमा अवसरबारे भारतीय पूर्वाधार कम्पनीहरुसँग अन्तरक्रिया

काठमाडौं, ८ भदौ ।  नेपालमा परियोजना सञ्चालन गर्दा उपलब्ध अवसर सम्बन्धमा भारतीय पूर्वाधार कम्पनीहरुसँग अन्तरक्रिया गरिएकाे छ।

भारतीय राजदूतावासले भारतीय उद्योग परिसंघ (सीआईआई) तथा नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहकार्यमा पूर्वाधार क्षेत्रसँग सम्बन्धित प्रमुख भारतीय कम्पनीहरुसँग भर्चुअल अन्तरक्रिया गरेको हो।

अन्तरक्रिया कार्यक्रममा भारतीय राजदुतावासका नियोग उप–प्रमुख नामग्य खम्पाले कार्यक्रममा उपस्थित सबै सहभागीहरुलाई सम्बोधन गरेकी थिइन् । त्यस लगत्तै उपस्थित सहभागीहरुलाई भारतीय दूतावासले पूर्वाधार क्षेत्रबारे जानकारी गराएकोे थियो ।

उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशव कुमार शर्माले सहभागीहरुसँग कुराकानी गर्नुका साथै उनीहरुको जिज्ञासा र प्रश्नहरुको जवाफ दिएका थिए । उक्त कार्यक्रमको सञ्चालन जीएमआर इनर्जीका प्रमुख कार्यकारी अधिकृत एस एन बर्देले गरेका थिए ।

कार्यक्रममा बोल्दै नियोग उप–प्रमुख खम्पाले नेपाल भारतको विशेष साझेदार तथा सबैभन्दा महत्वपूर्ण छिमेकी भएको चर्चा गर्दै भारतको एकीकृत दक्षिण एसियाली क्षेत्रको लक्ष्यलाई अघि बढाउन नेपाल प्रमुख सहयोगीको रुपमा रहेको उल्लेख गरिन् ।

खम्पाले आर्थिक विकासका लागि नेपालले गरेको प्रयासमा पूर्वाधार क्षेत्रको ठूलो भुमिका रहेको चर्चा गरिन् । यस क्षेत्रको बढ्दो अवसरबारे चर्चा गर्दै खम्पाले नेपाललाई प्राथमिकताको सुचीमा राखी यहाँका अवसरबाट लाभ लिन भारतीय कम्पनीहरुलाई सुझाव दिए ।

नेपालमा व्यवसाय क्षेत्रबाट सहभागीता जनाउन सहसचिव केशव कुमार शर्माले भारतीय कम्पनीहरुलाई स्वागत गर्नुका साथै उनले पूर्वाधार क्षेत्रमा बोलपत्रको मात्रा, दायरा र प्रकृतिबारे जानकारी दिएका थिए ।

उनले फन्डिङ्ग मोडालिटी, जोइन्ट भेन्चर र अन्य विषयहरुमा सहभागीहरुले उठाएका प्रश्नहरुको जवाफ दिएका थिए । उनले परियोजनाको मापदण्ड अनुरुप उपयुक्त हुने स्थानीय साझेदारहरुसँग सम्बन्ध विस्तार गर्न सहभागीहरुलाई प्रोत्साहित पनि गरेका थिए ।

गएका केही वर्षहरुमा भारतीय पूर्वाधार कम्पनीहरुले भारतभित्र तथा भारत बाहिर प्रमुख परियोजनाहरुको विकास गर्दै गुणस्तरीय निर्माण, समयावाधिभित्रै निर्माण सम्पन्न तथा मूल्य प्रतिस्पर्धाका लागि छुट्टै पहिचान बनाउन सफल भएको छ ।

भारतीय पूर्वाधार कम्पनीहरुलाई नेपालमा वृद्धि भइरहेका पूर्वाधार क्षेत्रप्रति आकर्षित गरी नेपालका साझेदारहरुसँग हातेमालो गर्दै प्रविधि, सीप र ज्ञान आदानप्रदान गर्ने उद्देश्यका साथ सो अन्तक्रियाको आयोजना गरिएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति