काठमाडौं, ८ भदौ । यो साताको सुरुमै आइतबार जनैपूर्णिमा परेको थियो भने सोमबार गाईजात्रा मनाइयो । यो दुवै पर्वको समयमा देशभरका विभिन्न स्थानमा मानिसहरुको भीड अत्यधिक देखिएको छ । विज्ञले कोरोना संक्रमणको अवस्था नेपालमा स्थिर नै रहेतापनि चाडपर्वको सिजन नजिकिएसँगै कोरोना संक्रमणको अवस्था ह्वात्तै बढ्न सक्ने आकलन गरेका छन् । उनीहरुका अनुसार १ २ हप्तामा संक्रमण बढ्न सक्छ ।
जनैपूर्णिमा, गाईजात्रालगायत आउँदो तीज, दसैं तिहार जस्ता पर्वमा जनस्वास्थ्यका मापदण्ड पालना नगरिए फेरि कोरोना संक्रमण चुलिन सक्ने विज्ञहरुको भनाइ छ ।शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिटका संयोजक तथा संक्रामक रोग विशेषज्ञ डा.शेरबहादुर पुन चाडपर्वको सिजन सुरु भइरहँदा कोरोना संक्रमण फेरी बढ्न सक्नेमा चिन्तित देखिन्छन् । डा. पुन भन्छन्, ‘चाडपर्व सुरु भइसक्यो। भीडभाड बढिरहेको छ । एक हप्तातिर फेरि संक्रमण बढ्न सक्ला ।

थपघट त भइराख्छ ।’उनका अनुसार डेल्टाजस्तै तीव्र गतिमा फैलिन सक्ने कडा खालको भेरियन्ट देखियो भने संक्रमणले गति लिन सक्छ । डा। पुन भन्छन्, ‘सबै म्युटेसन खराब नभएपनि डेल्टाजस्तै कडा खालको म्युटेसन आउँदा दुस्ख दिन्छ । अहिले ब्रेक-थ्रू केसहरु देखिइरहेका छन् । त्यो भनेको खोप लगाउँदा पनि संक्रमित हुनेहरुको संख्या उल्लेख्य छ ।’संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारीका अनुसार अहिले नेपालको संक्रमणको अवस्था हेर्दा दोस्रो लहरको दोस्रो उछालमा छ । डा. अधिकारीले संक्रमण स्थिर रहनुमा दुईवटा कारण रहेको बताए । एउटा त धेरै मानिसहरु संक्रमित भइसकेर एक तहको एन्टिबडी बनिसकेको छ । अर्को समुदायमा खोप कार्यक्रम ।
उनी भन्छन्, ‘संक्रमण बढिरहँदा पनि सिकिस्त केसहरु बढेका छैनन् । अहिले रोकथामलाई प्राथमिकता दिनुपर्ने बेला फेरि चाडपर्वका सिजन सुरु हुँदा बढ्न सक्छ । मानिसको जमघट बढ्छ । लक्षण नहुँदै संक्रमित हुँदैन भन्ने होइन । जोखिम बढी छ ।’ उनले इन्फ्लुएन्जा पनि देखिँदै गएकाले कोभिडमात्र होइन इन्फ्लुएन्जा पनि बढ्न सक्ने जिकिर गरे ।उनले ८० प्रतिशत जनसंख्यालाई खोप नदिएसम्म पूर्णतस् सुरक्षित नहुने तर्क गरे । ‘सबैले खोप पाइसकेका छैनन् । पूर्ण खोप पाउन सायद अझै १ वर्ष लाग्छ । त्यसैले जमघट गरेर चाडपर्व मनाउनुहुँदैन । जोखिम अझै छ,’ उनले भने ।
मन्त्रालयको विगत १५ दिनको तथ्यांक हेर्ने हो भने साउन २६ गते सबैभन्दा धेरै अर्थात पीसीआर र एन्टिजेन गरी १९ हजार १२३ परीक्षण भएको छ जसमा ४ हजार ९०४ जनामा संक्रमण पुष्टि भएको छ । २ हप्ताको अवधिमा सबैभन्दा बढी संक्रमण पुष्टि भएको पनि यही दिन नै हो । पीसीआर परीक्षणमा १७१० जनामा संक्रमण देखिएको छ भने एन्टिजेन परीक्षणमा ३ हजार १९४ जनामा संक्रमण देखिएको छ ।
दैनिक कोरोना संक्रमतिको परीक्षण दर पनि बढेको देखिँदैन । परीक्षणको संख्या हेर्ने हो भने दैनिक एन्टिजेन र पीसीआर गरी ११ हजारदेखि १९ हजारसम्म गरिएको छ । त्यो पनि समान छैनन् ।
सोमबारको तथ्यांक हेर्ने हो भने ११ हजार कुल परीक्षणमा (पीसीआर ८ हजार ७०४ र एन्टिजेन २ हजार ६२२ ) १ हजार ८०१ मा संक्रमण देखिएको छ । १ हजार ५४८ जना पीसीआर परीक्षणबाट संक्रमित पुष्टि भएका हुन् भने २५३ जना एन्टिजेन परीक्षणबाट संक्रमित पुष्टि भएका हुन् । २ हप्ताको अवधि हेर्दा दैनिक १ हजार देखि ४ हजारसम्म कोरोना संक्रमित थपिइरहेको अवस्था छ ।मन्त्रालयको तथ्यांक हेर्ने हो भने देशभरीि अहिले सक्रिय संक्रमितको संख्या ३८ हजार ३५१ रहेको छ ।

त्यसमा पनि ५ सयवटा भन्दा बढी सक्रिय संक्रमितको संख्या भएका जिल्ला २२ पुगिसकेका छन् । मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, नवलपरासी पूर्व, कास्की , बाग्लुङ, गोरखा, स्याङ्जा, तनहुँ, दाङ, रुपनदेही, सुर्खेत र कैलाली रहेका छन् ।त्यसैगरी उपत्यकामा सक्रिय संक्रमितको संख्या १० हजार ८३३ रहेको छ । काठमाडौंमा ७ हजार १८२, ललितपुरमा २ हजार २४० र भक्तपुरमा १ हजार ४११ रहेको छ ।हालसम्म देशभरि कोरोना संक्रमणबाट १० हजार ५ सय ३३ ले ज्यान गुमाएका छन् । मन्त्रालयको तथ्यांकमा सोमबार देशभरि कोरोनाबाट २४ जनाले ज्यान गुमाए । दैनिक २० देखि ४० को हाराहारीमा कोरोनाबाट मानिसको मृत्यु भइरहेको छ । कोरोनाबाट हुने मृत्युदर साउन २५ गते १.५ प्रतिशत छ । जुन दर १५ दिनको अवधिभर यथावत नै छ । यो प्रतिशतमा कुनै घटीबढी भएको देखिँदैन । यो अवधिमा सबैभन्दा बढी भदौ २ गते ४२ जना मृत्यु भएको छ ।निको हुनेको दर हेर्दा १.४१ छ त्यसमा पनि परिवर्तन भएको देखिँदैन। कुल परीक्षणको संक्रमण दर हेर्दा १९.४ प्रतिशत छ । साउन २५ मा १९.४ प्रतिशत संक्रमण दर रहेकोमा ३६ र २७ गते उस्तै रहेकोमा त्यसयता कुल परीक्षणको संक्रमण दर १९।५ रहेको छ । यो पनि स्थिर नै छ ।तथ्यांक हेर्दा ६० माथिकाले कोरोना संक्रमणबाट ज्यान गुमाउनु परेको छ । आइतबारसम्म यस उमेरसमूहका ५ हजार ६४८ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ५० देखि ५९ वर्ष उमेर समूहका २ हजार ६६ जनाले कोरोनाबाट ज्यान गुमाइसकेका छन् ।
प्रतिक्रिया