काठमाडौं, ६ भदौ । चिनी उद्योगहरुले उखु किसानको रकम तत्काल भुक्तानी नगरे चिनी उद्योग, व्यापारी र सरकारविरुद्ध कडा आन्दोलन गर्ने विभिन्न ६ वटा किसान संगठनहरुले चेतावनी दिएका छन्।
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ ९अप्फा०, अखिल नेपाल किसान महासंघ ९क्रान्तिकारी०, अखिल नेपाल किसान युनियन र अखिल नेपाल प्रगतिशील किसान संघले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन्।
उनीहरुले केपी ओली सरकारले जस्तो किसानमाथि बेइमानी नगर्न सरकारलाई सचेत गराएका छन्। उखु किसानको रकम एकमुष्ट भुक्तानी गर्नुपर्ने उनीहरुको माग छ। ‘वर्तमान सरकारले ओली सरकारले जस्तो बेइमानी नगरी उखु किसानहरुले चिनी मिलहरु र अन्य व्यापारीहरुलाई बेचेको उखुको भुक्तानी बापत प्राप्त गर्नुपर्ने रकम अविलम्ब भुक्तानी गर्न गराउन हामी किसान संगठनहरु जोडदार माग गर्दछौँ,’ किसान संगठनहरुले भनेका छन्, ‘यदि किसानहरुको रकम तत्काल भुक्तानी नगरिएमा हामी उखु किसानहरुको पक्षमा चिनी उद्योग तथा व्यापारीहरु र सरकारको विरुद्ध कडा संघर्षमा उत्रिने र संघर्षको मैदानमा कुनै अप्रिय घटना घटेमा त्यसको सम्पूर्ण जिम्मेवार सम्बन्धित चिनी उद्योगी, व्यापारी तथा सरकार हुने कुरा पनि यसै प्रेस वक्तव्यमार्फत स्पष्ट पार्न चाहन्छौँ।’

प्रतिक्रिया