काठमाडौँ, ६ भदौ । नेकपा एमालेका स्थायी कमिटी सदस्य विष्णु रिमालले १० बुँदे सहमति कार्यान्वयनमा गइसकेको बताएका छन्। रिमालले १० बुँदे सहमतिमा कार्यान्वयन गर्न बाँकी केही नरहेको पनि दाबी गरेका छन्।
केही मिलाउन बाँकी रहेको भए बैठकमै आएर कुरा राख्न सकिने पनि उनले बताए।‘१० बुँदे सहमति कार्यान्वयनमा गइसकेको छ। अब फेरि के गर्नुपर्ने छ र ?,’ रिमालले भने, ‘माधव नेपालको लागि १० बुँदे सहमति गरेको हो। उहाँ नै नभए पछि अब अरुले बैठकमै आएर आफ्ना कुरा राख्ने हो।’उनकाअनुसार १० बुँदे सहमति स्थायी र केन्द्रीय कमिटीबाट पारित भइसकेका छन्।
‘हामीले चौधौं बैठकलाई हामीले दशौंमा झारेको हो। पार्टी अध्यक्षले नै मान्नु हुन्न की भन्ने चिन्ता थियो। उल्टै माधव नेपालले नमाने पछि हामीले के गर्ने ? उनले प्रश्न गरे।तल्ला कमिटीहरुलाई पनि जेठ २ अन्तर्गत कसरी आबद्ध गर्ने भनेर कुरा गर्नलाई बैठकमै आउनुपर्ने उनको भनाइ छ। माधव नेपाललगायत १४ सांसदमाथि भएको कारबाही फिर्ता हुन सम्भव नरहेको उनले बताए।
‘माधव नेपालको कारबाही फिर्ता गर्नुपर्छ भनेर भन्नु नै वाहियात हो। एमाले फुटाउने अनि हामीले पूजा गर्दै हिँड्ने हो ररु उहाँहरुले त अर्को पार्टी बनाइसक्नुभयो,’ उनले भने, ‘आयोगले सनाखतको लागि बोलाएको छ। उहाँहरु बैठकमै नआउने अनि यो निर्णय र त्यो निर्णय खारेज गर भनेर हुन्छ ?’पाल पक्षमा गएका र नगएका सबैले आफूहरुलाई प्रतिगामी भन्दै हिँडेको उनको गुनासो छ। पार्टी आफ्नो ढंगले अघि बढ्ने भन्दै उनले प्रस्तावित विधानमाथि कुनै गुनासो भए बैठकमै आएर भन्नुपर्ने बताएका छन्। नेता नेपालले नेकपा एकीकृत समाजवादी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिइसकेका छन्। तर पहिले उनीसँग रहेका स्थायी कमिटी सदस्यहरू भने १० बुँदे सहमति कार्यान्वयन हुनुपर्ने माग गरिरहेका छन्।
प्रतिक्रिया