काठमाडौं, ५ भदौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी०)का नेता मेटमणि चौधरीले निर्वाचन आयोगमा दल दर्ता हुने वित्तिकै आफ्नो पार्टी सरकारमा सहभागी हुने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दे नेता चौधरीले पाँच दिनभित्र माधव नेपाललाई साथ छाडेका भनिएका नेताहरू पनि आफूहरूकै पार्टीमा आउने दाबी गरे । ‘पाँच दिनभित्र सबै जना उहाँहरू नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा फर्कनु हुन्छ,’ उनले भने, ‘निर्वाचन आयोगले ९ गते सनाखतका लागि बोलाएको छ, त्यसपछि दल दर्ताको प्रमाण पत्र प्राप्त हुन्छ र हामी सरकारमा जान्छौं ।’
नेता चौधरीले नेकपा एमालेले मुलुकको कुनै पनि समस्या समाधान गर्न नसक्ने निष्कर्षमा पुगेपछि आफूहरूले नयाँ पार्टी स्थापना गर्नुपरेको बताएका छन् । कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता एवम् प्रदेश–१ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले पार्टीमा फर्कन नेकपा (एकीकृत समाजवादी)का नेताहरुलाई आग्रह गरे । त्यसका लागि अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति कार्यान्वयन गरेर अघि बढ्न तयार रहेको बताएका छन् ।
नेता ठाकुर गैरेले पार्टी एकताका लागि १४ जना सांसदहरूमाथि गरिएको कारबाही तत्काल फिर्ता लिन अध्यक्ष ओलीलाई आग्रह गरे । वरिष्ठ नेता माधवकुमार नेपाललाई निर्वाचन आयोगमा दल दर्ताका लागि दिएको निवेदन फिर्ता लिन उनले आग्रह गरे । उनले आफूहरू पार्टी एकताको पक्षमा उभिएको दोहोर्याएका थिए । नेता गैरेले दुइ तिहाई बहुमत प्राप्त सरकारबाट पार्टीलाई सडकमा ल्याउने काम नेतृत्वले गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
प्रतिक्रिया