“५ दिनमा १० बुँदे सहमति कार्यान्वयन नगरे ओलीसँगको च्याप्टर क्लोज”

काठमाडौं,४ भदौ । नयाँ पार्टी गठन गर्ने माधवकुमार नेपालको निर्णयमा साथ नदिएका नेकपा एमालेका स्थायी कमिटी र केन्द्रीय कमिटी सदस्यहरूको बैठक अहिले जारी छ।

महाराजगञ्जमा बसिरहेको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यदलले बनाएको १० बुँदे सहमतिको तल्लो तहसम्म कार्यान्वयन गर्नुपर्ने र त्यसो नगरे उनीसँगको च्याप्टर क्लोज हुनेबारे छलफल भइरहेको छ। ‘१० बुँदे सहमति ओलीले स्थायी कमिटी र केन्द्रीय कमिटीबाट अनुमोदन गर्नुभयो तर कार्यान्वयन गर्नुभएन।

अब बढीमा पाँच दिनभित्र उहाँले तल्ला तहसम्म कार्यान्वयन नगरे ओली गलत रहेछन् र माधव नेपाल सही रहेछन् भन्ने हुन्छ,’ बैठकमा सहभागी नेता घनश्याम भुसालले भने,‘फागुन २८ यता भएका निर्णयहरू सबै खारेज नभए माधव नेपालको पल्ला भारी हुन्छ र ओलीसँगको हाम्रो च्याप्टर क्लोज हुन्छ भन्नेबारे साथीहरूले छलफल गरिरहेका छन्।’

उनका अनुसार ओलीले १० बुँदे कार्यान्वयन गरे र फागुन २८ यताका सबै निर्णय खारेज गरे भने माधव नेपाललाई पार्टी एकताका लागि आफूहरूले दबाब दिने पनि बैठकमा सहभागी नेताहरूको भनाइ छ।

स्थायी कमिटी सदस्य भीम रावल, युवराज ज्ञवाली, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, रघुजी पन्त र अमृत बोहोरासहित २ दर्जन केन्द्रीय सदस्यको बैठक बसिरहेको छ।यसअघि बिहीबार साँझ विज्ञप्ति जारी गर्दै एमालेका ८ जना स्थायी कमिटी सदस्यले नेपाल समूहका १४ सांसदलाई गरेको कारबाही ओलीले फिर्ता लिनुपर्ने र नयाँ पार्टी गठनको प्रक्रियाबाट माधव नेपाल पछि हट्नुपर्ने बताएका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति