काठमाडौं, ४ भदौ । माधव नेपालसहित १४ सांसदलाई निष्कासनको सूचना टाँस्न माग गर्दै ओली समूहका केही सांसद सभामुखको कार्यकक्ष बाहिर धर्ना दिएका छन्।
शुक्रबार सिंहदरबारस्थित सभामुख कक्षबाहिर खगराज अधिकारी, महेश बस्नेत सहितका केही सांसदले धर्ना दिएका हुन्। यद्यपि आज सभामुख अग्नि सापकोटा भने नआउने भएका छन्। एमालेका सुवास नेम्वाङ र सभामुख अग्नि सापकोटाबीच कुराकानी भएको सांसद महेश बस्नेतले जानकारी दिए।
नेम्वाङसँगको कुराकानीमा सभामुखले आफूले जतिसक्दो चाँडो उक्त कुरा टुंग्याउने बताएको सांसद महेश बस्नेतले जानकारी दिए। ‘यो कुरामा मेरो गम्भीर ध्यानाकर्षण भएको छ।
तर आज म आउँदिनँ। जतिसक्दो चाँडो उक्त कुरा टुंग्याउँछु’, सभामुखको भनाइ उद्धृत गर्दै बस्नेतले भने।यसअघि गत भदौ १ गते पार्टी विभाजन गर्न अघि बढेको भन्दै नेकपा एमालेले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारबाही गरेको थियो।
विभाजन गर्ने निर्णयबाट असन्तुष्ट नेपाल समूहका नेताहरूले बिहीबार विगतमा भएको १० बुँदे सहमति कार्यान्वयनमा जोड दिदै वक्तव्य समेत जारी गरेका थिए । उनीहरूले ओली र नेपाल दुबै पक्ष आफ्ना अडानबाट पछि हट्नुपर्ने धारणा सार्वजनिक गरेका थिए । तेस्रो धारका नेताहरूले एकताका लागि १४ जना सांसदलाई गरेको कारवाही पनि रोक्नुपर्ने धारणा सार्वजनिक गरेका छन् ।
तर ओली समूहका नेताहरू भने छिटो कारबाही गराउन जोडबल गरिरहेका छन् । नेपाल पक्षकै केही सांसदहरूले यसअघि नै कारबाही रोक्नका लागि सभामुखलाई पत्र दिइसकेका छन् ।
प्रतिक्रिया