काठमाडौं। अर्थमन्त्रालयले वरिष्ठ आर्थिक सल्लाहकारमा डा. सुरेन्द्रकुमार उप्रेतीलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको हो। उनलाई राज्यमन्त्री सरहको नियुक्ति दिइएको हो।
आर्थिक नीति विश्लेषणमा विशेष विज्ञता हासिल गरेका डा. उप्रेतीले विश्व व्यापार संगठनमा प्रवेश गर्दा अर्थतन्त्रमा बढ्ने लागत तथा यसबाट राजस्व तथा अर्थतन्त्रमा पर्ने प्रभावको विषयमा विद्यावारिधि गरेका छन्। त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्ने डा. उप्रेती कर्णाली प्रदेश मन्त्रिपरिषद्को आर्थिक विज्ञ समेत हुन्।
यसअघि जनार्दन शर्मा ऊर्जामन्त्री हुँदा पनि डा. उप्रेतीले उनलाई विशेष सघाएका थिए। ऊर्जामन्त्री हुँदा सफल मानिएका शर्माको ‘नेपालको पानी जनताको लगानी’ तथा ‘उज्यालो नेपाल’ कार्यक्रम अन्तर्गत विद्युत उत्पादनका लागि स्थापना गरेको विद्युत उत्पादन कम्पनीको विज्ञ संचालकका रूपमा डा। उप्रेतीले चार वर्ष काम गरिसकेका छन्। डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उप्रेती प्रधानमन्त्री कार्यालयअन्तर्गत नीति अनुसन्धान प्रतिष्ठानमा आर्थिक वृद्धिका मोडलहरु बारेको अनुसन्धानमा संलग्न थिए।
उनले क्यालिफोर्नियास्थित टेट्राटेकको तर्फबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को सम्भाव्यता अध्ययनका लागि अर्थविद्का रूपमा पनि काम गरेका छन्। उनले बुढीगण्डकी जलविद्युत आयोजना, नलसिंहगाड जस्ता ठूला परियोजनाहरुको अर्थविद्का रुपमा समेत काम गरेका छन्। रिसोर्सेस हिमालय फाउन्डेसन तथा विश्व बैंकअन्तर्गत पूर्वाधार परियोजनाहरुमा समेत अर्थविज्ञका रुपमा काम गरेको अनुभव छ। उप्रेतीले अर्थशास्त्रका विविध विषयमा नीतिगत अध्ययन तथा अनुसन्धान गर्दै आएका छन्।
प्रतिक्रिया