प्रदेश २ माओली नेतृत्वको एमालेभन्दा आफूहरु मजबुत रहेको नेपाल पक्षले दाबी

जनकपुरधाम, ४ भदौ । प्रदेश २ मा केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेभन्दा आफूहरु मजबुत रहेको माधव नेपाल पक्षले दाबी गरेको छ ।

२०७४ सालमा तत्कालीन एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टी बन्दा प्रदेश २ मा यो पार्टीको ३२ सांसद थिए । एमालेका २१ र माओवादीका ११ गरी ३२ जना सांसद रहेकोमा दुबै पार्टी पुरानो अवस्थामा फर्किदा एमालेका २१ सांसदमध्ये १३ जना एमाले समाजवादीमा रहेको नेपाल पक्षका एक नेताले बताए । तत्कालीन एमाले र माओवादी मिलेर नेकपा बनेपछि संसदीय दलको नेता साविक एमालेका सत्यनारायण मण्डल थिए । तर, ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेपछि प्रचण्ड–माधव समूहले मण्डललाई नेताबाट हटाएर शत्रुधन महतोलाई दलको नेता बनाएको थियो ।

पछि एमाले र माओवादी पुरानो अवस्थामा फर्किंदा समेत नेपाल पक्षका सांसदहरुले महतोलाई नै एमाले संसदीय दलको नेतामा निरन्तरता दिए । २९ चैत २०७७ मा बसेको संसदीय दलको बैठकमा एमालेका २१ मध्ये १३ जना सांसदले नेपाल पक्षका महतोलाई संसदीय दलका नेता बनाएको थिए ।अहिले पनि ती १३ जना सांसद आफूहरुकै पक्षमा रहेको नेपाल पक्षकी सांसद बेचु लुंगेलीले बताइन् । ‘अहिलेसम्म हाम्रो १३ जना कायम छन्, अझ थपिने सम्भावना छ,’ उनले भनिन् ।

नेपाल पक्षमा संसदीय दलका नेता महतोसहित सुन्दरबहादुर विश्वकर्मा, रबीन्द्र बैठा, गोबिन्द बहादुर न्यौपाने, डिल्लीप्रसाद उप्रेती, नागेन्द्र राय यादव, प्रमोद कुमार यादव, हसिमा खातुन, बेचु लुंगेली, मदनसेन प्रसाद श्रीवास्तव, मन्जु कुमारी यादव, सीता गुरुङ र अशोक कुमार यादव छन् ।एमालेमा सत्यनारायण मण्डल, शारदा देवी थापा, लगनलाल चौधरी, त्रिलोकी प्रसाद, किशोरी साह, डा. मनोज कुमार सिंह, अनिता कुमारी यादव र जगतारैन देवी रहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति