अष्टलक्ष्मी शाक्य भूमिगत राजनीतिदेखि पहिलो महिला मुख्यमन्त्रीसम्म

काठमाडौँ, ३ भदौ । काठमाडौंको सम्पन्‍न परिवारमा जन्मिएकी अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्मन्त्री बनेकी छन् । बुधबार राति उनले हेटौंडास्थित प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् ।

अष्टमीको दिन जन्मिएकाले उनको नाम अष्टलक्ष्मी राखिएको थियो । २०१० सालमा सम्पन्‍न शाक्य परिवारमा जन्मिएकी उनको परिवार सुन व्यवसायमा संलग्‍न थियो । शाक्यको परिवारले बनाएका गरगहनाहरु दरबारमा समेत लगिन्थ्यो ।एसएलसी दिएपछिको खाली समयमा अध्ययनका लागि भनेर उनी चिनियाँ पुस्तकालय जान्थिन् । त्यही बेलादेखि उनको राजनीतिप्रति चासो बढेको थियो । २०२६ सालबाट उनले राजनीति गर्न सुरु गरेकी हुन् ।

शाक्यको राजनीतिको सुरुवात वसन्तपुरस्थित चिनियाँ पुस्तकालयबाटै सुरु भएको थियो । चिनियाँ साहित्य अध्ययन गर्दा कम्युनिष्ट पार्टीले सबैलाई बराबरी गर्छ भन्ने विषयले राजनीतिप्रति आफूलाई आकर्षित गरेको उनले बताउने गरेकी छिन् । घरमा छोरा र छोरीलाई गर्ने भेदभावले समानताको विषयले उनलाई आकर्षित गर्‍यो । श्यामप्रसाद शर्मा नेतृत्वमा रहेको पार्टीका नेता रहेका महेशमान मास्केले राजनीतिमा लाग्न शाक्यलाई प्रेरित गरेका थिए ।

एसएलसी पास गरेपछि त्यस समयमा महिलाले मात्रै अध्ययन गर्ने रत्नराज्यलक्ष्मी क्याम्पसमा आईएमा भर्ना भएकी थिइन् । सुलोचना मानन्धर, अष्टलक्ष्मी शाक्यसहितको टोलीले सांस्कृतिक कार्यक्रम आयोजना गर्दथ्यो । चीन र माओत्सेतुङबाट प्रभावित भएर अष्टलक्ष्मी शाक्यसहितका साथीहरु चिनियाँहरुले लालसेनाले लगाउने जस्तै लुगा लगाएर गाउँ जाने गर्दथे ।

राजनीतिमा सक्रिय भएको कारण घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाएका शाक्यको विवाहको कुरा छिनेपछि घरबाट भागेर भूमिगत भएकी थिइन् । २०३६ सालको पुसमा भोज जाने भन्दै घरबाट निस्केकी उनले २ पेजको पत्र परिवारलाई लेख्दै भूमिगत राजनीतिमा सक्रिय बनेकी थिइन् ।भूमिगत रहेको समयमा शाक्य २०४५ सालमा इलामका पक्राउ परिन् । अखिल नेपाल महिला संघको अध्यक्ष समेत भएकी शाक्य निरन्तर रुपमा पार्टीमा सक्रिय महिला नेतृ हुन् ।

२०७४ सालमा भएको प्रदेशसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ (क) बाट शाक्य निर्वाचित भएकी हुन् । नयाँ संविधानअनुसार भएको पहिलो चुनावपछि नै शाक्य मुख्यमन्त्री बन्ने सम्भावना भएपनि एमालेभित्रको गुट संघर्षको कारण त्यो अवसरबाट वञ्चित भइन् ।प्रदेशको इन्चार्ज समेत रहेकी शाक्य प्रदेशमा बहुमत प्राप्त गरेको एमालेको संसदीय दलको चुनाव जित्दै मुख्यमन्त्री बन्ने अनुमान धेरैले गरेका थिए । तर, केन्द्रीय सदस्य समेत नरहेका हेटौंडा नगरपालिकामा पूर्व मेयर डोरमणि पौडेलसँग उनी पराजित भइन् ।नेकपा माओवादी केन्द्र एकीकरण भएपछि बनेको नेकपाभित्र विवाद चर्किनुका विभिन्न कारणमध्ये शाक्यको पराजय पनि एक थियो ।

माओवादी केन्द्रसँग छुट्टिएपछि पनि यो विषय एमालेभित्र रहिरह्यो ।नवौं महाधिवेशनमा माधवकुमार नेपाल समूहबाट एमाले उपाध्यक्ष जितेकी शाक्य नेपाल समूहबाट छुटिएपछि मुख्यमन्त्री बन्ने अवसर प्राप्त गरेकी हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति