काठमाडौं, ३२ साउन । सुजिता भण्डारी मृत्यु प्रकरणमा चितवन प्रहरीले गिरफ्तार गरी आत्महत्या दुरूत्साहनमा मुद्दा दायर गरिएका सुकदेव भण्डारीलाई चितवन जिल्ला अदालतले सोमबार ५० हजार रूपैयाँ धरौटी लिएर छाड्ने आदेश गरेको छ ।सुकदेवले धरौटी नबुझाएका कारण सोमबार भने उनी कारागार चलान भएको चितवन जिल्ला अदालतका श्रेस्तेदार ईश्वर आचार्यले बताए ।
धरौटी बुझाए उनी जुनसुकै दिन थुनामुक्त हुने आचार्यको भनाइ छ ।जिल्ला न्यायाधीश प्रकाश अधिकारीले सो आदेश गरेका हुन् । सुकदेव मृतक सुजिताका ठूलो बुबाका छोरा हुन् ।पूर्वी चितवन राप्ती नगरपालिका–३ पिप्लेकी २३ वर्षीया सुजिताको शव असार २० गते जंगलमा फेला परेको थियो ।
उनी असार ११ गते बिहानदेखि हराइरहेकी थिइन् । परिवारका सदस्यले सुजिता अपहरणमा परेको बताएपछि प्रहरीले खोजी सुरू गरेको थियो ।सुकदेव साउन ७ मा समातिएका थिए । नातामा दाजु बहिनी परे पनि सुजिता र सुकदेवबीच प्रेम सम्बन्ध रहेको र सुजिताले सुकदेवलाई बिहे गर्न भनेको अनुसन्धानमा खुलेको चितवन प्रहरीले जनाएको थियो ।
प्रतिक्रिया