काठमाडौं, ३१ साउन । एमाले विभाजनको अन्तिम चरणमा पुगेका बेला वरिष्ठ नेता माधव नेपालले आफूहरु केपी ओलीसँग नझुक्ने बताउँदै पार्टी विभाजन उन्मुख भएको संकेत गरेका छन् । शनिवार दिउँसो बाग्मती प्रदेशको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीको व्यवहारमा कुनै पनि परिवर्तन नआएकाले लुरुक्क परेर जान नसकिने बताएका थिए । नेपालले शनिवार दिउँसो ओलीसँग मिल्न नसकिने बताइरहेका बेला नेपाल समूहका दुई नेता लुसुक्क नयाँ दिल्ली पुगेका छन् । पार्टीका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिने बहानामा उनीहरु दिल्ली गएका हुन् । एमाले नेताहरु सुरेन्द्र पाण्डे र भीम आचार्य दिल्ली पुगेपछि नेपाल समूह पूरै सशंकित बनेको छ ।
अहिले माधव नेपाल समूहमा रहेका तर आठौं महाधिवेशनमा झलनाथ खनाल समुहमा रहेका नेताहरु पार्टी विभाजनको पक्षमा नरहेको र नेता खनाललाई पनि कन्भिन्स गर्नुपर्ने अवस्था आएपछि उनीहरु दिल्ली गएको एक स्रोतको दावी छ । एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल दिल्लीको एपोलो अस्पतालमा उपचाररत छन् ।
मृगौला प्रत्यायोजन गरेपछि दिल्लीको अस्पतालमा रहेका वरिष्ठ नेता खनाललाई भेट्ने निहुँ बनाएर उनीहरु दिल्ली पुगेका हुन् । दुवै नेताहरु पार्टी विभाजन गर्नु हुन्न भन्ने पक्षमा रहेका छन् । खनाल स्वंय भने ओलीसँग मिल्न नसक्ने भन्दै नयाँ पार्टी बनाउने पक्षमा रहेका छन् । तर खनाल निकट रहेका नेताहरु पाण्डे र आचार्यका अतिरिक्त गोकर्ण विष्ट, ठाकुर गैरे लगायतका धेरै नेताहरु भने पार्टी विभाजन गर्न नहुने पक्षमा उभिएपछि नेपालको शक्ति कमजोर बन्ने संभावना छ । पार्टी विभाजन हुने अवस्था आए नेपाल पक्षमा रहेका ८७ जना केन्द्रीय सदस्य मध्ये २० देखि २५ जनाले साथ नदिने संभावना रहेको छ । अहिले प्रभावशाली भनिएका युवा पुस्ताका नेताहरुले नेपाललाई साथ दिने संभावना कम रहेको छ । उनीहरुले नेपालसँग सल्लाह नगरी दिल्ली गएको स्रोतको दावी छ ।
प्रतिक्रिया