तालिबान थप दुई प्रान्तीय राजधानीमा कब्जा: लडाकु काबुलभन्दा ११ किलोमिटर मात्रै टाढा

काठमाडौं, साउन ३१ । तालिबान लडाकुहरुले अफगानिस्तानको आधाभन्दा बढी प्रान्तीय राजधानीमा कब्जा जमाएका छन् । उनीहरु अब राजधानी काबुलभन्दा ११ किलोमिटरमात्रै टाढा रहेको समाचार एजेन्सी एपीले जनाएको छ ।

अफगानिस्तानका एक स्थानीय प्रशासकले समाचार एजेन्सी एपीलाई भनेका छन्– तालिबान लडाकु अब केबल ११ किलोमिटर मात्रै टाढा छन् । यद्यपि सरकारको तर्फबाट भने यसको पुष्टि भएको छैन । यदि तालिबानले काबुल कब्जा गर्यो भने यो अफगानिस्तान सरकार र सेनाका लागि निकै ठूलो झट्का हुने छ ।

तालिबानले काबुलमा पनि कब्जा जमाउन सक्ने विश्लेषण आइरहेका बेला विभिन्न देशहरुले आफ्ना नागरिकहरुलाई फिर्ता लैजान काबुलमा सेना पठाउने क्रम जारी छ ।

पछिल्लो जानकारीअनुसार अमेरिका र ब्रिटेनपछि अष्ट्रेलियाले पनि आफ्नो सेनाको एक टुकडी काबुल पठाउँदै छ । यी सेनाहरुले आ–आफ्ना देशका नागरिक र दूतावासका कर्मचारीहरुलाई फिर्ता लैजाने छन् ।

दुई प्रान्तीय राजधानीमा कब्जा

शनिबारमात्रै तालिबान लडाकुहरुले पक्तिका र कुनार प्रान्तका राजधानी कब्जा गरेका छन् । यससँगै शनिबारसम्ममा तालिबानले आधाभन्दा बढी प्रान्तीय राजधानीमा कब्जा जमाइसकेको बीबीसीले जनाएको छ ।

पक्तिकाको परिषद अध्यक्षले भनेका छन्गु–प्तचर विभाग, प्रदेश प्रमुखको कार्यालय, प्रहरी हेडक्वाटर र स्थानीय जेल तालिबानको नियन्त्रणमा छन् ।

यसैगरी एक सांसदले कुनार प्रान्तको राजधानी असदाबाद पनि तालिबानले नियन्त्रणमा लिएको बीबीसीलाई बताएका छन् । ट्वीटरमा सार्वजनिक एक अपुष्ट भिडियोमा तालिबानी झण्डाका साथ मानिसहरु हिंडडुल गरिरहेको देखिन्छ ।

मजार-ए-शरीफ भन्ने शहरमा अफगान सेना र तालिबान लडाकुहरुबीच भयानक गोलीबारी जारी छ ।

काबुलमा डर र निराशा

तालिबान लडाकुहरु राजधानी काबुलको जति-जति नजिक पुग्दैछन्, त्यति-त्यति मानिसहरुमा डर पैदा भएको वातावरण देख्न सकिने बीबीसीले जनाएको छ ।

शनिबार काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा आतंकको वातावरण थियो । त्यहाँ अफगानिस्तानमा कार्यरत विदेशी नागरिक, दूतावासका कर्मचारी र अफगानिस्तानकै नागरिक कुनै न कुनै प्रकारले बाहिर जाने उपाय खोजीरहेका थिए । तालिबानले कब्जा गरेका क्षेत्रबाट भागेर काबुल पुगेका हजारौं मानिसहरु काबुलका सडक किनारमा बनाइएको अस्थायी क्याम्पमा बसिरहेका छन् ।

तालिबान नेतृत्व र सामाजिक सन्जालमा सक्रिय समर्थकहरुले भने तालिबानले नियन्त्रणमा लिएका क्षेत्रमा स्थिति सामान्य बन्दै गएको बताएका छन् । यसका साथै तालिबानले सबै वर्ग र समुदायका लागि काम गर्ने सन्देश पनि जारी गरिएको छ ।

यस्ता सन्देश तालिबान गुटहरुको तर्फबाट लगातार जारी गरिएको छ । यसको उद्देश्य तालिबानको आक्रमणअघि नै अफगान सैनिकले आत्मसमर्पण गरुन् भन्ने रहेको बीबीसीले जनाएको छ।

तालिलबान लडाकुहरुले बन्दी बनाएकाहरुलाई मार्छन् र युवतीहरुलाई तालिबान लडाकुहरुसँग बिहे गर्न बाध्य बनाउँछन् भन्ने खालका अभिव्यक्तिहरुलाई खण्डन गर्न पनि यस्ता सन्देश जारी गरिएको अनुमान छ ।

काबुलमा रहेको अमेरिकी दूतावास ३६ घण्टाभित्र पूर्णरुपमा खाली गराइने

काबुलमा रहेको अमेरिकी दूतावास ३६ घण्टाभित्र लगभग खाली गराइने भएको छ । सबै अमेरिकी कूटनीतिज्ञहरुले अगस्त ३१ भित्र अफगानिस्तान छाड्ने अपेक्षा गरिएको छ ।अमेरिकी सेनाले काबुलमा रहेको अमेरिकी दूतावासबाट अमेरिकी विदेशमन्त्रालयका कर्मचारीहरुलाई सुरक्षित रुपमा फिर्ता गर्नका लागि हजारौं सेनाहरु पठाइसकेको छ । राष्ट्रपति जो बाइडेनले थप एकहजार सेनाहरु अफगानिस्तान पठाएपछि अब कर्मचारीहरुको सुरक्षित निकाशीका लागि त्यहाँ पठाइएका सेनाको संख्या ५ हजार पुगेको छ । काबुलको दूतावासमा बाँकी रहनेहरु अब कूटनीतिक सुरक्षा सेवाका विशेष प्रतिनिधिहरुमात्र हुनेछन् ।

त्यस्तै राजदूत लगायत उच्च स्तरीय निर्णयकर्ताहरु पनि रहनेछन् । त्यस्तै संवेदनशील हार्ड ड्राइभहरु नष्ट गर्न, क्यामेराहरु हटाउन र दूतवासका आलार्महरु निस्कृय बनाउनका लागि केही सुरक्षा इन्जिनियरहरु पनि केहीदिन रहनेछन् ।

बाँकी सबै दूतावासका कर्मचारीहरु, विशेष आप्रवासी भिसा कुरिरहेकाहरु, स्थानीय कर्मचारी र उनीहरुका परिवारहरुलाई काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा लगिने भएको छ । त्यहाँ विमानस्थल पार्क गरिने स्थानमा अस्थायी रुपमा राहत दूतावास स्थापना गरेर भिसा प्रकृया अगाडि बढाउने र मूलुक छाड्ने प्रकृयाको काम भइरहेको छ ।तालिवानहरुले काबुलमा नियन्त्रण कायम गर्दै गर्दा अमेरिकी दूतावास हटाउने हतारो भएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति