मृत्यु दर्ता खारेज गरी पाँच वर्षपछि नागरिकता पाए सुभाषले

काठमाडौं, २९ साउन । जिउँदो हुँदाहुँदै मृत्यु भयो भनेर काजकिरिया गरिएका एक व्यक्तिले मृत्यु दर्ता खारेज गरी पाँच वर्षपछि नागरिकता पाएका छन् । मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गका ४० वर्षीय सुभाष तामाङले बिहीबार नेपाली नागरिकताको प्रतिलिपी प्राप्त गरेका हुन् ।

२०७२ साल असारमा साउदी अरबमा दुर्घटनामा परेका उनको मृत्यु भयो भन्दै शव आएपछि आफन्तले अन्त्येष्टि गरी २०७२ साउन ६ गते मृत्यु दर्ता गरेका थिए । तर दुर्घटनाको एक वर्षपछि उनी जीवितै घर फर्किए । तामाङको बिहीबार मृत्यु दर्ता खारेज गरी मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले नागरिकताको प्रतिलिपी प्रदान गरेका हुन् । ‘राष्ट्रिय परिचयपत्र एवं पञ्जीकरण ऐन २०७६ को दफा २४ अनुसार मृत्यु दर्ता खारेज गरी नागरिकताको प्रतिलिपी दिइएको छ,’ प्रजिअ निरौलाले भने ।

सुभाषको भनेर अन्त्येष्टि गरिएको शव अर्कैको

वैदेशिक रोजगारीका क्रममा साउदीमा रहेका सुभाष २०७२ साल असार २५ गते दुर्घटनामा परेका थिए । दुर्घटनाको २८ दिनमा सुभाषको भनेर शव नेपाल आयो । परिवारले धार्मिक संस्कार अनुसार अन्तिम संस्कार गरे । तर पछि उक्त शव सुभाषको नभएर बागलुङको ढोरपाटन–६ का तेजेन्द्र भण्डारीको रहेको पुष्टि भयो ।

उनी कार्यरत कम्पनीको लापरबाहीका तेजेन्द्रको शवलाई सुभाषको भनेर नेपाल पठाइएको थियो । दुर्घटनाबाट गम्भीर घाइते भएका सुभाष उपचारपछि २०७३ सालमा नेपाल फर्किएका थिए । उनले आफ्नै मृत्यु दर्ता खारेजीका लागि प्रक्रिया थालेका थिए । ‘पाँच वर्षसम्म सरकारी निकायमा धाएर बिहीबार बल्ल नागरिकता पाएँ,’ सुभाषले भने ।

मृत्यु दर्ता हुँदा लामो समयदेखि अनावश्यक दुःख पाउनु परेका कारण सरकारले आफूलाई क्षतिपूर्ति दिनुपर्ने उनको माग छ । आफू जीवित रहेको सरकारी प्रमाणसहित नेपाली नागरिकता प्राप्त गरेका उनले पुनः विदेश जाने सोच बनाएको बताए । बेलबारी बस्दै आएका उनले केही समय सिटी सफारी सञ्चालन गरेका थिए । उनका दुई छोराछोरी र श्रीमती छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति