अफगानिस्तानको दोस्रो ठूलो शहर कान्धार कब्जा गरेको तालिबानको दाबी

काठमाडौं, २९ साउन । विद्रोही तालिबान समूहले अफगानिस्तानको दोस्रो ठूलो शहर कान्धार कब्जा गरेको दाबी गरेको छ ।तालिबान समूहले कान्धारको जेल कब्जा गरेर राजनीतिक कैदीबन्दीहरुलाई मुक्त गरेको एक भिडियो सार्वजनिक भएको छ ।तालिबानका एक प्रवक्ताले कान्धारमा पूर्णरुपमा विजयी भएको दाबी गरेका छन् । तालिबान समूहको यो दाबी सत्य भएमा अफगानिस्तान सरकारको नियन्त्रणमा अब केबल राजधानी काबुल र केही सानातिना क्षेत्र मात्र बाँकी रहेको छ ।

तालिबानले अब राजधानी काबुल पनि कब्जा गर्न सक्ने विश्लेषण गर्न थालिएको छ ।अफगानिस्तानमा २० वर्षदेखि रहँदै आएका अमेरिकी र अन्य विदेशी सैनिक फिर्ता भएलगत्तै तालिबान समूहले एकपछि अर्को शहरमाथि कब्जा जमाउँदै गएको छ । तालिबानले एक हप्ताको बीचमा ३४ प्रान्तीय राजधानीमध्ये ११ मा आफ्नो नियन्त्रण स्थापित गरिसकेको छ ।हालैमात्र तालिबानले महत्वपूर्ण शहरहरु गजनी र हेरातलाई नियन्त्रणमा लिएको थियो । गजनीबाट राजधानी काबुल १५० किलोमिटर मात्रै टाढा पर्दछ ।तालिबान समूहले अब राजधानी काबुलमा आक्रमण गर्न सक्ने अनुमान गरिएको छ । अमेरिकी सेनाले पनि तालिबानले ३० देखि ९० दिनको अन्तरमा राजधानी काबुल कब्जा गर्न सक्ने आशंका गरेको थियो ।अमेरिकाले आफ्ना नागरिक फिर्ता ल्याउन ३ हजार सैनिक अफगानिस्तान पठाउने तयारी गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । पेन्टागनका प्रेस सचिव जोन किबीले अमेरिकी रक्षा विभागले काबुलस्थित दूतावासबाट आफ्ना कर्मचारीलाई सुरक्षित निकाल्न सेना पठाउन लागेको जानकारी दिएका हुन् ।यसअघि अमेरिकाले तालिबान समूहसँग वार्ताको क्रममा काबुलस्थित आफ्नो दूतावासमा केही पनि नगर्न भनेको समाचार सार्वजनिक भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति