काठमाडौं, २७ साउन । झण्डै चार बर्षअघि २०७४ को आम निर्वाचनमा माओवादी केन्द्रसँगको कार्यगत एकताबाट करीव दुइ तिहाइ स्थान हासिल गरेको नेकपा एमालेले एकपछि अर्को धक्का व्यहोर्नुपरेको छ । नयाँ संविधान निर्माणपछि पहिलोपटक भएको निर्वाचनमा ठूलो दल बनेपछि संघीय सरकारका साथै ४ वटा प्रदेशमा सरकार बनाएको एमाले संघीय सरकारका साथै क्रमशः प्रदेश सरकारको नेतृत्वबाट समेत बाहिरिन बाध्य भएको छ । चुनावपछि एमाले र माओवादी केन्द्रसँग मिलेर नेकपा बन्यो । नेकपा बन्दा केन्द्रसहित ७ वटा सरकारको नेतृत्व गरे पनि एमाले–माओवादी एकता झण्डै साढे तीन वर्षभन्दा बढी टिकेन । एमाले–माओवादी मिलेर बनेको नेकपा गत फागुन २३ पछि पूर्ववत् अवस्थामा पुगेसँगै केन्द्रदेखि प्रदेशमा समेत एमाले एकपछि अर्को गर्दै सत्ता छोड्न बाध्य भएको छ । केन्द्रमा अध्यक्ष केपी ओलीको ठाउँमा काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भैसकेका छन् ।
गत फागुन २३ मा सर्वोच्च अदालतले नेकपालाई मान्यता नदिएपछि सत्ता कम्पन व्यहोर्न बाध्य एमालेमा अझै त्यो कम्पन जारी छ । यो कम्पनले अध्यक्ष केपी शर्मा ओलीदेखि प्रदेशमा ओलीकै विश्वासपात्रका रुपमा रहेका लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलदेखि गण्डकीका पृथ्वी सुब्बा गुरुङसमेत सत्ता बहिर्गमनमा परिसकेका छन् ।प्रदेश सभामा बहुमत नपुग्ने भएपछि बुधबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिन बाध्य भए । उनको राजीनामा प्रदेश प्रमुख अमिक शेरचनले बुधबारै स्वीकृत गरेर नयाँ मुख्यमन्त्री चयनको बाटो खोलेका छन् ।
मुख्यमन्त्री पोखरेलको राजीनामासँगै अब लुम्बिनी प्रदेशमा गठबन्धनका तर्फबाट प्रस्तावित नेकपा माओवादीका नेता कुलप्रसाद केसी मुख्यमन्त्री बन्ने निश्चित देखिएको छ ।
गण्डकी प्रदेशमा यसअघि नै गुरुङ नेतृत्वको सरकार ढलेर काँग्रेसका कृष्णचन्द्र पोखरेल नेपाली मुख्यमन्त्री बनिसकेका छन् । लुम्बिनीका मुख्यमन्त्री पोखरेलको राजीनामासँगै एमाले नेतृत्वको प्रदेश सरकारको संख्या चारबाट २ मा सीमित बन्न पुगेको छ । बाग्मती र प्रदेश १ मा मात्र सीमित भएको एमाले नेतृत्वको प्रदेश सरकार ती प्रदेशमा पनि रहने, नरहने अनिश्चित छ । पोखरेलको बहिगर्मनपछि यो प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रकै नेता कुलप्रसाद केसी मुख्यमन्त्री बन्नेछन् । यो प्रदेशमा प्रदेश प्रमुख पनि माओवादी केन्द्रकै नेता अमिक शेरचन छन् । देउवा नेतृत्वको सरकारले दुईसाता अघिमात्रै शेरचनलाई प्रदेश प्रमुख नियुक्त गरेको थियो । त्यस्तै लुम्बिनी प्रदेशका सभामुख पनि नेकपा माओवादीकै छन् । लुम्विनी प्रदेशका सभामुख माओवादीका पूर्णबहादुर घर्ती छन् ।
प्रतिक्रिया