कुनै जाली मुद्दा जितेर प्रधानमनत्री भएको थिइनँ – केपी ओली


काठमाडौं, २६ साउन ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री बन्न नजन्मिएको बताएका छन्। प्रतिनिधिसभा बैठकलाई मंगलबार सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले आफू देशको सेवाका निम्ति जन्मिए पनि काम गर्दै जाँदा संयोगले प्रधानमन्त्री भएको जिकिर गरे।‘म प्रधानमन्त्री हुन जन्मिएको होइन, काम गर्दै जाँदा प्रधानमन्त्री भएँ,’ उनले भने, ‘म यो देश र यस देशको सेवाको निम्ति जन्मिएको जस्तो ठान्छु।

उनले ६४ वर्षको उमेरसम्म प्रधानमन्त्री नभएको स्मरण गर्दै अनेक जालझेल र तिकडमबीच पनि आफू दुई पटक प्रधानमन्त्री बनेको बताए । ‍‘विभिन्न पार्टीको नेताहरुको महत्वाकांक्षा, अहंकार आदिको समिश्रणबाट पनि प्रधानमन्त्री भएको हैन। स्वार्थको गठजोडबाट पनि भएको होइन। त्यस्ता विभिन्न असफलताको फिक्सनबाट उछिट्टिएर मेरो भागमा प्रधानमन्त्री भएको होइन,’ उनले भने, ‘सभामुख महोदय कुनै जाली मुद्दा जितेर प्रधानमनत्री भएको थिइनँ।

म परमादेशबाट हैन जनादेशबाट भएको हो । प्रधानमन्त्री पद दाइजो, जजमानीबाट प्राप्त हुने पद होइन।’ओलीले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजीप्रति असन्तुष्टिसमेत जनाएका छन्। उनले भूमिहीन आयोग खारेज गरेर घाँटी रेट्ने काम भएको टिप्पणी गरे । पछिल्लो समय आफूमाथि प्रहार भइरहेको भन्दै उनले अगाडि भने, ‘म माथि धेरै प्रहार भइरहेका छन् । समृद्ध नेपाल सुखी नेपालीको उद्देश्य बाकेर हिँडेको मान्छेलाई केही फरक पर्दैन म लक्ष्यमा अडिग छु। समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय उद्देश्य मेरो सरकारले सरकारले यही उद्देश्य अनुसार काम गर्ने प्रयास गर्‍यो,’ उनले भने।उनले आफू जनादेशबाट प्रधानमन्त्री भएको र पछि जालझेली गरेर हटाइएको आरोप लगाएका छन्। ‘मलाई राम्रो ग्रहदशाले प्रधानमन्त्री बनाएको होइन।

नेपाली जनताले मत दिएर प्रधानमन्त्री बनाएको हो ।’ उनलले राजनीतिमा नातावाद र भ्रष्टाचारविरोधी नीति आफूले लिएकै कारण केहीका सपना तुषारापात भएको दाबी गरे। ‘गलत कुरामा सम्झौता नगर्दा प्राप्त गरेको लोकप्रियताले कसै कसैलाई जलन भयो होला । आजकाल साथीहरूको अभिव्यक्तिमा त्यो देखिन्छ, उनले भने।‘उपयुक्त ठाउँमा उपयुक्त व्यक्तिको स्वच्छ र पारदर्शी तरिकाले प्रतिस्पर्धात्मक विधिबाट स्थान दिएको थिएँ। नातावाद र कृपावादको छायासम्म पर्न नदिने मेरा नीति रहे,’ उनले भने।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति