विषय विज्ञको ज्ञानलाई देश निर्माणमा जोडौँ : अर्थमन्त्री शर्मा

काठमाडौं, २५  साउन ।   अर्थमन्त्री जनार्दन शर्माले अर्थविद्हरूको विज्ञतालाई अर्थ मन्त्रालयसँग जोड्ने संयन्त्र जरुरी रहेको बताए । नेपाल आर्थिक सङ्घले आज अर्थमन्त्रीलाई सङ्घको मानार्थ सदस्यता प्रदान गर्नका लागि आयोजित कार्यक्रममा विषय विज्ञतालाई मुलुकको हितसँग जोड्ने संयन्त्र बनाउनुपर्नेमा जोड दिए ।

मन्त्री शर्माले देशको अर्थतन्त्र हाक्न अर्थ मन्त्रालय वा सरकार मात्र पर्याप्त नहुने भन्दै विषय विज्ञको ज्ञान र अनुभवलाई निरन्तर जोड्ने खालका कुनै न कुनै संयन्त्र आवश्यक भएको बताउ। आफूले यस विषयमा योजना बनाइरहेको उन्ले जानकारी दिए। अर्थ सचिव मधुकुमार मरासिनीले हामी नै जान्ने हौँ भन्ने घमण्ड कर्मचारीमा पलाउन सक्नेतर्फ सचेत रहेको भन्दै आफूले त्यस्तो हुन नदिने प्रतिबद्धता व्यक्त गरे। उनले कुनै नीति र योजना तय गर्दा विज्ञको ज्ञान र अनुभव समेटेर अघि बढ्ने बताए ।

नेपाल आर्थिक सङ्घका अध्यक्ष प्राध्यापक विश्वम्भर प्याकुरेलले देशको आर्थिक नीति निर्माणमा आफूहरूले अर्थ मन्त्रालयलाई सघाउँदै आएको प्रसङ्ग उल्लेख गर्दै आगामी दिनमा पनि सो क्रम जारी रहने बचन दिए । अर्थविद् डा भवानी ढुङ्गाना, डा शिवराज अधिकारी, गोपाल तिवारीलगायतले नयाँ सरकारसँग काम गर्नको लागि पर्याप्त समय नरहेको भन्दै जनतालाई प्रत्यक्ष फाइदा पुग्ने खालका ससाना र थोरै कार्यक्रम अघि सार्न सुझाव दिए। उनीहरुले सरकारले विभिन्न समयमा अनुसन्धान गराउने गरेको भए पनि अध्ययन प्रतिवेदन पुस्तकालयमा थन्काउने गरिएको गुनासो गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति