म सबैथोक जान्ने सर्वज्ञानी हुँ भन्ने अहंकारले पार्टीभित्र समस्या पैदा गरेको छ– नेता नेपाल

काठमाडौं, २३ साउन ।   एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूले पार्टी भित्र देखिएको समस्या समाधान गर्न चाहिरहेको बताएका छन् । नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै ‘म सबैथोक जान्ने सर्वज्ञानी हुँ’ भन्ने अहंकारले पार्टीभित्र समस्या पैदा गरेको उल्लेख गर्दै ती समस्या समाधान गरेर अघि बढन आफूले चाहिरहेको बताएका हुन् । शनिबार आफू पक्षीय जनवर्गीय संगठनहरुले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टीभित्र देखिएको समस्या समाधान गर्नका लागि आफू एक्लैको प्रयासले सम्भव नहुने पनि स्पष्ट पारे । वरिष्ठ नेता नेपालले भने, ‘हामी कहाँ पनि अहंकारका प्रवृत्तिहरु देखा परे । सामूहिकताका भावनाहरु हराउन थाले । अरुका ज्ञान अनुभवहरुलाई बेवास्ता गर्न थालियो । मै सबथोक सर्वज्ञानी हुँ भन्ने अहंकार, घमण्ड बढेर गयो । र हाम्रो पार्टी नेकपा (एमाले)मा समस्या देखा पर्‍यो । त्यो समस्या हामी हल गर्न चाहिरहेका छौं । तर के हल गर्नका लागि पार्टी भित्रका रोगको सही पहिचान गर्नका लागि हामी तयार छौं ? हामी, हो त्यहीा उद्देश्यका साथ पार्टीलाई नयाँ जीवन दिन चाहिरहेका छौं ।’नेता नेपालले पार्टीलाई नयाँ जीवन दिन भन्दै अरुले जस्तो बाँदरे नाच नाच्ने काम नगर्न पनि आफू पक्षीय जनवर्गीय संगठनका नेता, कार्यकर्तालाई आह्वान गरे । इमान्दार बन्नुपर्ने, असल संस्कार बोक्नुपर्ने, अरुको मानमर्यादामा आँच पुर्‍याउने काम कसैले पनि गर्न नहुने उनको भनाइ थियो । वरिष्ठ नेता नेपालले आफूभित्र रहेका त्रुटिहरु स्वीकार गरेर अघि बढ्ने आँट गर्न पनि आग्रह गरे । उनले भने, ‘त्रुटि नभएको मान्छे कोही पनि हुँदैन । मान्छे हो त्रुटि हुन सक्दछ । सबै सुध्रिउन । देश, जनता र राष्ट्रका लागि समर्पित होऔं ।’नेता नेपालले सिंगो कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाएर देश र जनताको सेवामा समर्पित भएर लाग्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति