प्रधानमन्त्री देउवाले दिए त्रिविका शिक्षकलाई करार गर्ने आश्वासन

काठमाडौँ, २१ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयमा कार्यरत आंशिक शिक्षकलाई करारमा नियुक्तिको व्यवस्था गर्ने आश्वासन दिएका छन् । त्रिवि आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिका प्रतिनिधिलाई भेट गरी आश्वस्त तुल्याएका हुन् । संघर्ष समितिका संयोजक गोकुल लिम्बूका अनुसार २०७४ मंसिर ८ गते देउवा नेतृत्वको मन्त्रिपरिषद्ले १ हजार ४ सय २० जना आंशिकलाई करार नियुक्ति गर्न स्वीकृत गरेको थियो । ‘तर त्यसबीचमा त्रिविले कार्यान्वयनको चासो देखाएन,’ अघिल्लो निर्णयलाई कार्यान्वयन गर्न माग लिएर प्रधानमन्त्री देउवासँग भेटपछि लिम्बूले भने, ‘त्यसपछि ५ सय ८० जना आंशिक प्राध्यापक संख्या थपिएको छ । प्रधानमन्त्रीज्यूलाई हाम्रा मागलाई लिएर ध्यानाकर्षण गराएका छौं । उहाँले कार्यान्वयन गर्ने वचन दिनु भएको छ ।’आंशिक शिक्षकले संघर्ष समितिमार्फत् आफ्नो मागलाई लिएर धर्नादेखि पदाधिकारीका कार्यकक्षसम्म तालाबन्दी गर्दै आएका छन् । चौतर्फी तालाबन्दी गरेपछि त्रिविले वार्ता कमिटी गठन गरी दुई बुँदे सम्झौता गरेको छ । जसमा यसअघि करार नियुक्ति गर्ने मन्त्रिपरिषद्को निर्णय तत्काल कार्यान्वयन गर्ने र थपिएका ५ सय ८० जनालाई करार नियुक्तिका निम्ति त्रिवि कार्यकारी परिषदमा निर्णयार्थ प्रक्रिया अघि बढाउने रहेको छ ।त्रिविअन्तर्गत १६ हजार जनाको दरबन्दी रहेको छ । त्यसमध्ये १२ हजार शिक्षक र कर्मचारी कार्यरत छन् । खाली रहेको दरबन्दीमा करार र आंशिक रूपमा कार्यरत शिक्षकलाई अवसर दिइनु पर्ने उनीहरूको माग छ ।

 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति