कोभिड नेपालः मृतकको कुल सङ्ख्या १० हजारनजिक, उपत्यकामा १० हजार जनाभन्दा बढीमा सक्रिय सङ्क्रमण

काठमाडौं, २१ साउन । नेपालमा थप ३९ सय ३८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र ३७ जनाको कोभिड-१९ का कारण मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

बिहीवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार १८,४०८ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। तीमध्ये ६,५०० जनाभन्दा बढीको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या सात लाख ७३ हजार नाघेको छ भने मृतकको सङ्ख्या ९,९९४ पुगेको छ। मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा १,९२५ जना सङ्क्रमणमुक्त भएका छन्।

दक्षिण एशियामा बाङ्ग्लादेश र नेपालको सङ्क्रमण पुष्टि दर उच्च छ। नेपालमा कोभिडका कारण अहिलेसम्म १.५ प्रतिशत सङ्क्रमितको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाउँछ।

मन्त्रालयको तथ्याङ्कअनुसार अहिले देशभरि ३४,४०० जनाभन्दा केही बढीमा सक्रिय सङ्क्रमण छ।

 

कहाँ छन् सङ्क्रमित ?

अहिले काठमाडौंमा ७,०८० जना, भक्तपुरमा १,२९९ जना र ललितपुरमा १,६ ८९ जना सक्रिय सङ्क्रमित रहेका छन्।

विभिन्न १६ वटा जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढी छ।

देशभरि भएका सक्रिय सङ्क्रमितमध्ये झन्डै एकतिहाइ काठमाडौं उपत्यकामा छन्।

भर्खरै पुष्टि भएका र निको हुन बाँकी सङ्क्रमितमध्ये ३१ हजार जनाभन्दा बढी घरमा तथा ३,३०० जनाभन्दा बढी संस्थागत आइसोलेशनमा छन्।

तीमध्ये गम्भीर समस्या भएका ७१३ जना विभिन्न अस्पतालका आईसीयूमा र १५८ जना भेन्टिलेटरमा भएको मन्त्रालयले जनाएको छ।

के छ खोप वितरणको अवस्था ?

विगत २४ घण्टामा १,१७,००० जनाभन्दा बढीलाई कोभिड(१९ को खोप दिइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यससँगै खोपको पूर्ण मात्रा लगाउनेको सङ्ख्या २१,३१,००० हाराहारी पुगेको छ।

नेपालमा अहिलेसम्म झन्डै ४३ लाख ६०,००० जनाले पहिलो मात्रा खोप लगाएका छन्।

नेपालमा भेरो सेल र जोनसन एन्ड जोनसन खोप वितरण भइरहेको छ।

जोनसन एन्ड जोनसन खोप एक मात्रा मात्र लगाए पुग्छ भने कोभिशील्डको र भेरो सेलको दुई मात्रा लगाउनुपर्छ।

तर भारतमा उत्पादित अक्सफर्ड(आस्ट्राजेनेकाको कोभिशील्ड खोप निर्यातमा रोक लागेपछि नेपालको खोप अभियान प्रभावित भएको छ।

उक्त खोपको पहिलो मात्रा लगाएका झन्डै १३,६७,००० जनाले दोस्रो मात्रा लगाउन पाएका छैनन्।

जापान सरकारले नेपाललाई आस्ट्राजेनेका खोप उपलब्ध गराउन लागेको छ। त्यो खोप पहिलो मात्रा कोभिशील्ड लगाएका व्यक्तिलाई दिने सरकारको योजना छ।

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने ?
कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ

११३३
९८५१२५५८३९
९८५१२५५८३७
एम्बुलेन्स सेवाको लागि

१०२
यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।

विविसीबाट

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति