कोभिडविरुद्धको पूर्ण खोप लगाउने पहिलो जिल्ला बन्यो मनाङ : मनाङ र मुस्ताङले कसरी खोप पाउन सके ?

काठमाडौं, १९ साउन ।  हिमाली जिल्ला मनाङका १८ वर्षमाथिका सबै नागरिकले कोभिड–१९ विरुद्धको खोप दुवै मात्रा लगाएका छन् । अठार वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाइएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिए । अठार वर्षमाथिका सबैलाई कोभिडविरुद्धको खोप लगाउने पहिलो जिल्ला मनाङ बनेको छ ।

उनका अनुसार जिल्लाका चार हजार १९८ नागरिकलाई कोभिडविरुद्धको खोप लगाइएको छ । तीमध्ये एक सय ६५ जनाले कोभिशिल्डको दोस्रो खोप लगाउन बाँकी रहेको आचार्यले बताए । मनाङमा दुई हजार ९६ जनाले एस्ट्राजेनेकाको कोभिशिल्ड खोप, दुई हजार २७ जनाले जोन्सन एण्ड जोन्सनको खोप र ७५ जनाले भेरोसेलको पूर्ण खोप लगाएको आचार्यले बताए ।

स्वास्थ्य कार्यालयले मनाङमा खोप लगाउन योग्य नागरिक छ हजार २०० रहेको बताएको थियो । अन्य नागरिक कामको सिलसिलामा देशविदेशमा रहेकाले खोप लगाउने नागरिकको सङ्ख्या चार हजार १९८ रहेको आचार्यले जानकारी दिए ।
जिल्ला बाहिर रहेका नागरिक आएमा उनीहरुलाई पनि स्वास्थ्य कार्यालयले खोप उपलब्ध गराउने व्यवस्था गरेको उनले बताए । देशैभर खोपको अभाव रहेको अवस्थामा खोप लगाउन पाउँदा खुशी लागेको पर्यटन व्यवसायी विनोद गुरुङले बताए । उनका अनुसार नागरिकले कोभिड–१९ को सङ्क्रमण जोखिममा खोप लगाउन पाएकोमा सुरक्षित महसुस गरेका छन् । प्राकृतिक विपद् र विश्वव्यापी महामारीले मानवीय क्षति हुन नदिन दुर्गम जिल्ला मनाङलाई मागअनुसारको खोप उपलब्ध गराएको गण्डकीका स्वास्थ्यमन्त्री मधुमाया अधिकारी गुरुङले बताए । “प्रदेशका सबै जिल्लामा कोभिडविरुद्धको पूर्ण मात्रा खोप पु¥याउने लक्ष्य हो, तर विकट जिल्ला मनाङलाई प्राथमिकतामा राखी खोप उपलब्ध गरायौँ, अन्य जिल्लालाई पनि पूर्णरुपमा खोप उपलब्ध गराउने कसरतमा छौँ ।” “विपद् सँगसँगै कोभिडको जोखिमबाट बचाउनका लागि दुर्गम जिल्ला मनाङका नागरिकलाई खोप लगाउन सफल भएका छौँ”, नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले भने, “स्थानीय तहको समन्वयमा प्रदेश सरकार र सङ्घ सरकारले दुर्गम जिल्लालाई प्राथमिकता दिएर खोप उपलब्ध गराएकोप्रति आभार व्यक्त गर्दछु, जसले आमनागरिकलाई सुरक्षित बनाएको छ ।”

यसरी पाए खोप 

खोप अभियानको योजना अनुसार असार १ गते बिहान फलामको डण्डीको सहायताले टुकुचे स्वास्थ्य चौकीका अहेब सविन खत्री र कोबाङ स्वास्थ्य चौकीका स्वास्थ्य सहायक लालबहादुर रोकायाले छाक्ताङ खोलाको बाढीमा खोप तारे।

यो भिडिओ टिकटकबाट सुरू भएर विश्वभर नै फैलियो। संयुक्त राष्ट्र संघसम्म यसले चर्चा पायो। बाढी र पहिरोको सामना गर्दै स्वास्थ्यकर्मीले कोरोना महामारीविरूद्ध खोप अभियान सफल बनाए।

मनाङमा बाढीपहिराको जोखिममा रहेको अवस्थामा कोभिडविरुद्धको खोप ढुवानीका लागि नेपाली सेनाले सहयोग गरेको थियो । आचार्यका अनुसारमा मनाङमा गत माघ १४ गतेदेखि खोप लगाउने अभियान शुरु भएको थियो ।
कोरोना भाइरसबाट ज्यान जोगाउन अचुक उपाय नै खोप भएको स्वास्थ्यकर्मीहरू बताउँछन्। सहर बजारमा मात्र नभई गाउँमा समेत कोरोनाविरूद्धको खोप हाहाका  हुँदा हिमाली जिल्ला मनाङ र मुस्ताङले कसरी खोप पाउन सके ? यी दुबै जिल्लाका स्वास्थ्य प्रमुखले प्रदेश र संघ सरकारलाई जिल्लाको अप्ठ्यारो बताएर नै पूर्ण खोप मागेका थिए।

अन्यत्र जस्तै मनाङ र मुस्ताङ दुबै जिल्लामा माघ दोस्रो सातादेखि खोप अभियान सुरू भएको थियो। भौगोलिक विकटताका कारण पटक–पटक खोप अभियान चलाउन नसकिने व्यहोरा जिल्ला स्वास्थ्य प्रमुखहरूले प्रदेश र संघ सरकार मातहतका निकायलाई जानकारी गराए।

जिल्लाका सबै नागरिकलाई खोप लगाउन आवश्यक डोज मगाए। बाढी र पहिरोले मोटरबाटो अवरूद्ध हुँदा कोही बिरामी भए उपचारका लागि अस्पताल लैजान पनि हेलिकप्टरबाहेक अरु विकल्प थिएन। हेलिकप्टर उड्न पनि मौसम सफा चाहिन्थ्यो। त्यसमाथि जिल्लाका सबै नागरिक हेलिकप्टर चार्टर गरेर उपचार गर्न अस्पताल जान सक्ने अवस्था थिएन। आचार्यले ३ वटा उपाय प्रस्तुत गरेर खोप मागेको बताए। मनाङबासीले पूर्ण खोप पाउनुपर्ने पहिलो उपाय आचार्यले यसरी बताए।

‘पोखरा, काठमाडौंमा बिरामी भएको ५ मिनेटमै अस्पताल पुग्न सक्नुहुन्छ,’ मनाङका स्वास्थ्य प्रमुख आचार्यले भने, ‘मनाङमा कोही बिरामी पर्नुभयो भने मर्नुको विकल्प छैन भनेर हामीले खोप मगायौं।’ मनाङमा १ महिनाभन्दा बढी समयदेखि बिजुली र मोटरबाटो सुचारु छैन। यसकारण पनि मनाङबासीले पहिलो चरणमै सबै नागरिकलाई खोप चाहिने उनीहरूले माग गरे। दोस्रो, मनाङमा धेरै जनसंख्या छैन। सहरका एउटा वडामा भन्दा पनि कम जनसंख्या छ। भौगोलिक विकटताले सधैं मानिस गाउँमा बस्दैनन्। जाडो सुरू भएपछि तल झर्छन्। आचार्यले भने, ‘सहरमा खोप अभियान चलाउँदा खेर जाने जति खोपले पूरै जिल्ला पूर्ण खोपयुक्त हुन्छ भनेर हामीले दोस्रो लजिक पेश गर्‍यौं।’ तेस्रो, बाढी र पहिरोका कारण गाउँहरू आफैं थुनिएका थिए। झोलुङ्गे पुल बाढीले बगाएको थियो। चरणवद्ध खोप लगाउन गाउँ जाने र फर्कन सक्ने अवस्था थिएन। यसकारण पनि जिल्लाबासी सबैलाई खोप चाहियो भनेर मागेको आचार्यले बताए।

मनाङ र मुस्ताङका यी दुई जिल्लाका स्वास्थ्य प्रमुखले आग्रह गरे पनि संघीय सरकार र प्रदेश सरकारले माग गरेअनुसार खोप उपलब्ध गरायो। बाढीकै बीच उनीहरूले सबै नागरिकलाई खोप लगाइदिए। १८ वर्षमाथिका सबै नागरिकले खोप पाउने सम्भवतः पहिलो जिल्ला बने।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति