काठमाडौं, १७ साउन । सरकारले कोरोनाको तेस्रो लहर आउनसक्ने भन्दै पूर्वतयारी थालेको छ । गृहमन्त्री बालकृष्ण खाणले कोरोना सम्बन्धमा विशेष बैठक गर्दै खोप, होल्डिङ सेन्टर र अन्य आवश्यक तयारीका लागि निर्देशन दिएका छन् ।
गृह मन्त्रालयमा आयोजित छलफलमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ, गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी लगायत सहभागी थिए । ‘कोरोना नियन्त्रण चुनौतीपूर्ण भएपनि सबैको समन्वयमा काम गर्यौं भने असम्भव छैन ।
कोरोना नियन्त्रणलाई प्राथमिकता दिएर योजनाबद्ध ढंगले काम गरौ’, गृहमन्त्री खाणले भने । उनले होल्डिङ सेन्टर निर्माणको काम सन्तोषजनक नरहेको भन्दै थप प्रभावकारी ढंगले काम गर्न निर्देशन दिए । कोरोनाको तेस्रो लहर आउनुअघि नै कोरोनाविरुद्धका संरचना तयार गर्नुपर्नेमा खाणको जोड थियो ।
बैठकमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सबै सरकारी अस्पतालमा अक्सीजन व्यवस्थापन गर्न तथा कोरोनाविरुद्ध सय दिने विशेष योजना कार्यान्वयन गरिने बताए । सीमा क्षेत्रबाट प्रवेश गर्ने नागरिकलाई खोप दिएर होल्डिङ सेन्टरमा राखिने भन्दै राज्यमन्त्री श्रेष्ठले एक हप्ताभित्र ३२ लाख डोज खोप आउने बताए ।‘हामीले ४० लाख फाइजर खोप किन्न आवश्यक प्रबन्ध गरेका छौं । त्यसमध्ये १६ लाख चीन र १६ लाख डोज जापानबाट यही हप्ता आउनेछ’, श्रेष्ठले भने । बैठकमा सुरक्षा निकायका प्रमुखहरूले स्वास्थ्य मापदण्ड कार्यान्वयनका लागि सक्रियता बढाइएको जानकारी दिएका थिए ।
प्रतिक्रिया