काठमाडौं, १६ साउन । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विवाद झन् झन् कचल्टिएको छ। अध्यक्ष केपी शर्मा ओलीले गत बधुबार आज शनिबारसम्म विवाद वारपार गर्न दोस्रो तहका नेतालाई थापाथलीबाट निर्देशन दिएका थिए।
दैनिक थापाथली आउने वाचा गरेका उनले त्यहीँबाट चार दिनमा वारपार गर्न दिएको समयसीमा पनि आज गुज्रिँदैछ। तर एमालेको विवाद मिल्नुको साटो झन् झन् नमिल्ने दिशातिर गइरहेको छ।असार २७ गते राति जुटाएको १० बुँदे सहमति एमालेले अनुमोदन त गरेको छ तर त्यो कार्यान्वयन हुने सम्भावना कम छ। कार्यदलमा रहेका नेपाल पक्षीय नेताहरुले सहमतिले पार्टीलाई एक बनाउने विश्वास गरेका थिए। तर वरिष्ठ नेता नेपालले नै उक्त सहमतिमाथि प्रश्न उठाउँदै ओलीले फेरि धोका दिने भन्दै मिल्नका लागि एकपछि अर्को शर्त राखिरहेका छन्। कार्यदलका नेपाल पक्षीय संयोजकसहितका सदस्यहरु एमाले एक बनाउन तयार भएका छन्। तर नेता नेपालले एमाले एक बनाउने हो भने आफूलाई ओली बराबरको हैसियत र अधिकार चाहिने अडान लिएका छन्। ओलीले फेरि पनि धोका दिने भन्दै उनले दुईजनाको हस्ताक्षरबाट मात्रै पार्टी चल्ने गरी सहमति भएमा आफू मिल्न तयार रहेको अडान राखिरहेका छन्।
तत्कालीन नेकपा विभाजित हुँदा पुष्पकमल दाहाल समूहमा लागेर केही समय दोस्रो अध्यक्ष भएका उनले ओलीसँग मिल्न पनि त्यही अडान राखेका छन्। नेता नेपालले आफू, झलनाथ खनाल र अष्टलक्ष्मी शाक्यमध्ये एकजनालाई दोस्रो अध्यक्ष बनाएर गएमा मात्रै पार्टी मिल्ने अडान राखेका छन्।
ओलीको निर्देशनपछि यसबीचमा नेता नेपालसँग विष्णु पौडेल, सुवास नेम्वाङ र भीम रावलसहितले संवाद गरिसकेका छन्। उता ओलीसँग पनि दोस्रो तहका नेताको संवाद जारी छ। यसबीचमा २२ सांसदसहित शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सघाएका नेपालमाथि सरकारमा जानुपर्ने पनि चर्को दबाब छ। आफूनिकट दोस्रो पुस्ताका नेता साइड लागे पनि तेस्रो पुस्ताका नेताहरुले सरकारमा जानै पर्ने दबाब दिँदै अब नयाँ पार्टी खोल्न पनि खुट्टा कमाउन नहुने मत राखिरहेका छन्।
तर नेपाललाई त्यही समूहबाट एमालेमै मिलेर जानुपर्ने दबाब पनि कम छैन। नेपाललाई सत्तामा लैजान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फकाउने प्रयास जारी राखेका छन्। उनले सत्तामा आएमा आफ्नो पार्टीकै हैसियतमा मन्त्री दिने बताइरहेका छन्। तर नेता नेपाल नयाँ पार्टी बनाउने संवैधानिक हैसियत नभएसम्म आफूलाई घाटा हुने निष्कर्षमा छन्। नेपाल अहिले तेहेरो चेपुवामा छन्। एकातिर एमालेमा मिल्नुपर्ने दोस्रो पुस्ताको दबाब, अर्कातिर सरकारमा जानुपर्ने प्रचण्ड र देउवाको दबाब। अझै अर्कातिर नयाँ पार्टी खोलेर अघि बढ्नुपर्ने तेस्रो पुस्ताको दबाब। यी अनेक दबाबबीच नेता नेपाल अहिले अनिर्णयको बन्दी बनेका छन्। उता एमाले अध्यक्ष ओलीसँग तत्कालै वार्तामा बस्न पनि उनले अनिच्छा देखाइरहेका छन्।दोस्रो पुस्ताले एमाले मिलिसकेको दाबी गरिरहँदा आज बस्न लागेको एमाले स्थायी कमिटीको बैठकमा पनि माधव पक्ष जाने छैन। च्यासलमा बस्न लागेको बैठकमा विभिन्न तीन बुँदे एजेण्डामा छलफल हुँदैछ।
एमालेको बैठकमा केन्द्रीय विभागहरूको पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नवीकरणरवितरण सम्बन्धमा छलफल गर्ने तयारी गरिएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। च्यासलमा एमाले स्थायी कमिटी सुरु हुनअघि नेपाल पक्षले गठन गरेको अखिल फोर्सको राष्ट्रिय भेला हुँदैछ। एमालेकै ओली पक्षले युथ फोर्स ब्यूँताएपछि त्यसलाई चुनौती दिन गठन गरिएको अखिल फोर्सको राष्ट्रिय भेलामा नेता नेपाल प्रमुख वक्ता छन्।
भेलालाई नेता नेपालसहितले सम्बोधन गर्दैछन्। भेलाअघि माधव पक्षले भृकुटीमण्डपबाट बबरमहलसम्म मोटरसाइकल र्याली गर्ने भएको छ।
एमालेमा विवाद बढ्दै गइरहँदा ओली पक्षले युथफोर्स ब्यूँताएको छ भने साइबर सेना र आइटी आर्मीलाई पनि सक्रिय बनाएको छ। यस्तोमा माधव पक्षले अखिल फोर्स र पिपुलस् भोलेन्टियर्सलाई सक्रिय बनाएको छ। एमाले सत्ताबाट बाहिरिएसँगै सक्रिय बनाइएका यी संगठनको नेता योगेश भट्टराईसहितले भने कडा विरोधसहित खारेज गर्नुपर्ने बताउँदै आएका छन्।
एमाले स्थायी कमिटी बैठक बस्नुअघि विघटित कार्यदलका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षीय नेताहरुबीच सिंहदरबारमा छलफल भएको छ।तीन बुँदे एजेण्डासहित एमाले स्थायी कमिटी बैठक बस्नुअघि दुवै पक्षका भनिएका दोस्रो तहका नेताहरु आपसी संवादमा जुटेका हुन्।
यसअघि गत बुधबार एमाले अध्यक्ष केपी ओलीले पार्टीभित्रको विवाद शनिबारसम्म वारपार गर्न भनेका थिए। तर दोस्रो तहका नेताहरुले छलफल गरे पनि ओली–नेपाल संवाद गराउन नसक्दा एमालेभित्रको विवाद झन् कचल्टिएको छ।आजको छलफलमा विघटित कार्यदलका सदस्यहरु सुवास नेम्वाङ, भीम रावल, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, प्रदीप ज्ञवाली र गोकर्ण विष्टसहित जुटेका हुन्।
प्रतिक्रिया