लुम्बिनी प्रदेशकी सांसद बिमला वली शुक्रबार रातीबाट सम्पर्क बिहिन


बुटवल , १६ साउन । लुम्बिनी प्रदेशकी सांसद बिमला कुमारी खत्री (वली) सम्पर्कबाहिर रहेको माओवादी केन्द्रले दाबी गरेको छ । वली बिहीबार साँझदेखि सम्पर्कमा नरहेको रहेको माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीमगरले बताए । ‘हामीले निरन्तर फोन गरेका छौं । उहाँले चलाउने एउटा मोबाइल अफ छ ।

परिवारले उनी तुलसीपुरबाट आफन्तकहाँ नेपालगन्ज गएको बताएको छ । तर, उनको मोबाइलको लोकेसन भने रुपन्देहीको बुटवलस्थित नयागाउँ आसपासमा देखिएको सचेतक घर्तीले बताए । उनी दाङ ३ (ख) की सांसद हुन् । एमालेबाट निर्वाचित पति उत्तरकुमार वलीको मृत्यु भएपछि उनी उपनिर्वाचनमार्फत चुनिएकी हुन् । तत्कालीन नेकपाबाट जितेकी उनले पाटी विभाजनपछि भने माओवादी केन्द्र रोजेकी थिइन् ।

यद्यपि एमालेले सूर्य चिन्हबाट लडेको सांसद भन्दै उनलाई सत्तापक्षमा कुर्सी राख्न प्रदेश सभालाई पत्राचार गरेको थियो । माओवादी केन्द्रले एमालेले उनलाई आफ्नो कब्जामा लिएको आरोप लगाएको छ । माओवादी केन्द्रले शनिबार बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको छ । वली उक्त बैठकमा नआए खोजबिनका लागि प्रहरीमा उजुरी गर्ने सचेतक घर्तीमगरले बताए । सरकारका प्रवक्ता बैजनाथ चौधरीले भने वलीका बारेमा कुनै जानकारी नभएको बताए । लुम्बिनीमा सत्तापक्ष सरकार जोगाउन र विपक्ष सत्ता गिराउन लागिरहँदा सांसद खरिदबिक्री, राजिनामा र ‘सम्पर्कविहीन’ हुनेक्रम बढेको छ । यसअघि जसपा सांसद पुर्मती ढेंगा मगर सम्पर्कविहीन भएकी थिइन् । पाटीमा उपेन्द्र यादवले आधिकारिकता पाएपछि भने उनी सम्पर्कमा आएकी छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति