काठमाडौं,१६ साउन । पूर्वयुवराज पारस शाहले प्रहरीमाथि अभद्र व्यवहार गरेका छन्। शुक्रबार साँझ महाराजगञ्जस्थित नारायणगोपाल चोकमा शाहले प्रहरीलाई यस्तो गरेका हुन्।
हेल्मेट नलगाई मोटरसाइकलमा सवार शाहलाई प्रहरीले समातेको थियो। पारसले त्यसक्रममा प्रहरीलाई धम्कीपूर्ण शैलीमा छोड्न भनिरहेको सार्वजनिक भएको भिडिओमा सुन्न सकिन्छ।
शुक्रबार साँझ काठमाडौंको महाराजगञ्ज चोकमा ड्युटीमा रहेका ट्राफिक प्रहरीसँग उनी वादविवादमा उत्रिएका थिए। महानगरीय ट्राफिक प्रहरी महाशाखा स्रोतका अनुसार हेल्मेट प्रयोग नगरी केही व्यक्तिले मोटरसाइकल चलाइरहेको देखेपछि ड्युटीमा रहेका ट्राफिक प्रहरीले उनीहरुलाई रोकेका थिए।
हेल्मेट नलगाइ मोटरसाइकल चलाउनेमध्येका धेरैले प्रहरीसँग गल्ती स्वीकार गरेपनि पारस शाह भने उल्टै वादविवादमा उत्रिएका ट्राफिक महाशाखाका एक प्रहरीको भनाइ छ। पूर्व युवराज पारसले प्रहरीसँग झ’गडा गरिरहेको विषयमा केही प्रत्यक्षदर्शी (सर्वसाधारण)ले भिडियो समेत खिचेका छन्। जसमा प्रहरीले उनलाई प्रहरी कार्यालय जान भनिरहेको सुनिन्छ। तर, पारस भने ‘जान्न, म जान्न, के गर्छस् ? ’ भनिरहेका सुनिन्छ।
त्यहाँ रहेका प्रहरी कर्मचारीले सञ्चार सेटमार्फत् तालुक निकायमा खबर गर्दै गाडि पठाउन माग गरिरहेका भिडियोमा सुनिन्छ। त्यसबीचमा पारससँगै आएका उनका समर्थकले हो–हल्ला गरेको पनि भिडियोमा देखिन्छ।
पारसलाई चौकी नल्याइ बाटोमै छोड्नु भन्ने आदेशपछि उनलाई कुनै कारबाही नगरी छाडिएको महानगरीय प्रहरी बृत्त महाराजगञ्जका एक कर्मचारीले जानकारी दिए। ‘बाटोमा सर्वसाधारणको भिड पनि बढ्ने र अनावश्यक तनाव सिर्जना हुने भन्दै माथि (महानगरीय प्रहरी परिसर काठमाडौं)बाटै छाड्नु भन्ने आदेश आयो,’ महाराजगञ्ज बृत्तका ती प्रहरी कर्मचारीले भने। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरि पालले भने गल्ती स्वीकार गरी माफी मागेपछि पारस र उनका समर्थकलाई छाडिएको बताए।‘उनीहरुले ट्राफिक नियम उल्लंघन गरेको, हेल्मेट नलगाएको देखियो। त्यसबारे कानुनी रुपमा प्रक्रिया अगाडि बढ्छ नै। ट्राफिक नियम उल्लघंन गर्दा कसैलाई पक्राउ त गरिँदैन,’ एआईजी पालले भने, ‘ट्राफिक नियम उल्लंघन गरेका कारण पछि जरिवाना गर्ने गरी आज चाहिँ यस्तो गल्ती पछि नदोहोर्याउने भनेर छाडियो।’
यही व्यवहार सर्वसाधारणले गरेको भए लाइसेन्स बरामद गरी चिट काट्ने तथा अन्य ट्राफिक नियम उल्लंघनको कारबाही प्रहरीले चलाउँथ्यो। प्रहरीलाई हप्कीदप्की तथा अभद्र व्यवहार गर्दा कसुर अनुसार कारबाही पनि हुन्थ्यो। संक्रामक रोग अन्तर्गत जारी भएको ऐन अनुसार आकर्षित गरेर पनि प्रहरीले उनलाई कारबाही गर्न सक्थ्यो।
पटपटक विवादमा
पूर्वयुवराज शाह पटकपटक उछृंखल गतिविधि गरेर चर्चामा आइरहन्छन् ।
२८ जेठ २०७५ मा उनी सवार बा १४ च २१३१ नम्बरको गाडी जावलाखेलबाट ट्राफिक नियम उल्लंघन गर्दै भागेको थियो । प्रहरीले उनको गाडीलाई थापाथलीमा रोको थियो । तर रिसमा उनले थापाथलीमा कार्यरत् एक महिला प्रहरी जवानलाई हान्ने गरी गाडी हुइँक्याएका थिए ।
संयोगले उनी जोगिएकी थिइन् । उनी तिनै प्रहरी जवान थिइन्, जसले पारसको लाइसेन्स लिएर जरिवानाको चिट काटेको थियो ।
२०७१ सालमा उनी थाइल्याण्डमा गाँजासहित पक्राउ परेका थिए । चारपटकसम्म लागूऔषधसहित पक्राउ परेका उनी पछिल्लो समय नेपालमै थिए । विशेष गरी उनी पोखरामा देखिन्थे ।
दुई वर्षअघि उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक प्रहरीलाई धकेलेको भिडियो पनि भाइरल भएको थियो ।
कुनै वेला चितवनमा उनले रुबेल चौधरीमाथि पनि गोली चलाएका थिए । दरबारमार्गमा २२ साउन २०५७ मा पारसले चलाएको गाडीले ठक्कर दिँदा गायक प्रविण गुरुङको मृत्यु भएको थियो । मोटरसाइकलमा सवार गुरुङलाई हानेर उनको गाडी सिधै निर्मल निवास छिरेको थियो ।
पछि दरबारले नक्कली चालक खडा गरेर उनलाई जोगाएको थियो । तर राजतन्त्र हटेको लामो समय भइसक्दा पनि उनको उदण्डता उस्तै छ ।
प्रतिक्रिया