साझालाई बिजुली बस बेच्न नौ चिनियाँ कम्पनी प्रतिस्पर्धामा

काठमाडौं, १४ साउन । साझा यातायातले बिजुली बस खरिद गर्न आह्वान गरेको टेण्डरमा नौ चिनियाँ कम्पनी प्रतिस्पर्धामा उत्रिएका छन्। चाइना मेसिनरी इन्जिनियरिङ, जोङतोङ बस को लिमिटेड, बिवाईडी अटो इन्डस्ट्री, सिएचटिसी किनवीन, नानजिङ गोल्डेन ड्रागन बस को लिमिटेड, जु्रह्वाइ ग्वाङतोङ अटो मोबाइल, एनहुइ एनकेइ अटोमोबाइल, बेइजी फोटोन मोटर कम्पनी र चेरी एण्ड वान्डा कम्पनीले बोलपत्र दिएका हुन्। साझाले गत चैतमा ४० वटा विजुली बस खरिदका लागि बोलपत्र आह्वान गरेको थियो।

सोहीअनुसार नौ चिनियाँ कम्पनीको बोलपत्र परेको साझा यातायातका सञ्चालक भुषण तुलाधरले बताए। ती नौ कम्पनीमध्ये सार्वजनिक खरिद नियमावली बमोजिम उपयुक्त कम्पनी छनोट गरिने उनको भनाइ छ।‘हामी प्राविधिक पक्षमा पनि सबैभन्दा राम्रो र विदेशमा पनि निर्यात गरिरहेको कम्पनी छनोट गर्छौँ।

त्यसका लागि अध्ययन प्रकृया अगाडि बढिसकेको छ। सम्भवतः अब एक हप्ताभित्र छनोट हुने बताईएको छ । गुणस्तरसँगै सस्तो मूल्यमा समेत ध्यान दिइ कम्पनी छनोट गरिने तुलाधरले बताए। साझाका अनुसार बसको यात्रु क्षमता बढीमा ५० सिटको रहने छ। लम्बाई नौ मिटर रहने छ। बसमा वाइफाई, टिभी, सिसी क्यामेरा लगायत अत्याधुनिक विशेषता रहने उल्लेख छ।

२०७५ पुस ९ गते सरकारले साझा यातायातलाई तीन सय बिजुली बस खरिद तथा सञ्चालन गर्न तीन अर्ब रूपैयाँ दिने निर्णय गरेको थियो। दिइएको बसको ‘स्पेसिफिकेसन’ परिर्वतन गरेको भन्दै गत असोज १ गते लिखित रूपमा मन्त्रालयले खरिद प्रक्रिया अगाडि नबढाउन साझालाई निर्देशन दियो। गत माघमा साझा यातायातलाई बिजुली बस खरिद तथा संचालन गर्न दिएको तीन अर्बको ब्याजसहित फिर्ता माग्ने निर्णयसमेत सरकारले गरेको थियो। सरकारले तीन अर्ब रुपैयाँ फेरि साझालाई नै दिने र बस किन्न अनुमति पनि दिने निर्णय लिएपछि कम्पनीले बस किन्न लागेको हो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति