काठमाडौं, १२ साउन । नेकपा (माओवादी केन्द्र)ले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा हटाएकाहरूलाई पुनर्स्थापना गर्ने भएको छ। मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रदेश प्रमुखलगायत पदमा यसअघि माओवादी कोटाबाट नियुक्त भएकाहरूलाई तिनै पदमा पुनर्स्थापना गर्ने निर्णय गरेको हो।‘जसलाई हटाइएको थियो, उनीहरूलाई पुनर्स्थापना गर्नुपर्छ भन्ने भएको छ।
नियुक्तिमा त्यहीअनुसार पार्टीले नेगोसियसन गर्ने निर्णय भएको छ,’ स्थायी कमिटी सदस्य गणेश साहले भने। नेकपा विघटन भएर एमाले र माओवादी केन्द्र बनेपछि ओलीले माओवादी कोटाबाट प्रदेश प्रमुख बनेका तिलक परियार र अमिक शेरचनलाई हटाइदिएका थिए। गठबन्धनसँग भागबन्डा मिले अब परियार प्रदेश २ र शेरचन गण्डकीका प्रदेश प्रमुख बन्ने भएका छन्। सरकारले प्रदेश २, गण्डकी र लुम्बिनीमा प्रदेश प्रमुख फेर्ने तयारी गरिरहेको छ। बुधबार बिहान सत्तारूढ गठबन्धनको बैठक बस्दैछ। उक्त बैठकमा मन्त्रालयलगायत अन्य पदको भागबन्डाबारे छलफल हुनेछ । असार २९ गते गठन भएको प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अहिलेसम्म पूर्णता पाउन सकेको छैन।
प्रतिक्रिया