ठाकुर पक्ष थप संकटमा : नेता राजकिशोरले अर्को पार्टी बनाउन महन्थलाई साथ नदिने

काठमाडौं, ९ असार । जनता समाजवादी पार्टी (जसपा)का नेता राजकिशोर यादवले अध्यक्ष महन्थ ठाकुरलाई नयाँ पार्टी बनाउन खोजे आफूले साथ दिन नसक्ने बताएका छन् । जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षले पाउने करिब निश्चित भएको भएको समयमा नेता यादवले ठाकुरलाई साथ दिन नसक्ने बताएका हुन ।

निर्वाचन आयोगले पार्टी एकीकरणका बेला गत वर्ष आयोगमा पेस भएको कार्यकारिणी समितिलाई मान्यता दिँदै त्यसैमा रहेका सदस्यहरूको ‘हेड काउन्ट’ गर्न आदेश दिएपछि आधिकारिकता यादव पक्षले पाउने देखिएको छ । निर्वाचन आयोगले ११ साउनमा ५१ सदस्यीय कार्यकारिणी सदस्यहरुलाई सनाखतका लागि बोलाएको छ । त्यसअघि ठाकुर र उपेन्द्र यादव पक्षले शनिबार छुट्टा–छुट्टै बैठक राखेको थियो ।

सांसद तथा कार्यकारिणी समितिका सदस्य यादव दुबै पक्षको बैठकमा सहभागी भए । अध्यक्ष उपेन्द्र यादवले बोलाएर बालकुमारी पुगेका उनले कार्यकारिणी समितिको बैठकमा आफ्नो धारणा राखेका थिए । ३० वैशाखयता महन्थ ठाकुर पक्षले बोलाएको बैठकमा नगएको र अहिले पनि पार्टी एकताको पक्षमा रहेको यादवले बताए । शनिबार भने ठाकुर पक्षको बैठकमा जाने र जसपाको पक्षमा उभिने धारणा राखेर आउने बताएको एक नेताले जानकारी दिए । यादव ठाकुर पक्षको बैठकमा पनि सहभागी भए । उनले अध्यक्ष ठाकुरलाई आफू एकताको पक्षमा रहेको र नयाँ पार्टी गठन गर्न खोजे साथ दिन नसक्ने बताएका छन् ।

जवाफमा ठाकुरले भने आफूहरुले पनि फुट नचाहेको, तर अहिले एकताको वातावरण नभएको बताए । जसपा संसदीय दल र कार्यकारिणी समिति दुबैमा यादव पक्षको बहुमत छ । यादव पक्षको शनिबारको बैठकमा राजकिशोर बाहेक ३२ जना उपस्थित थिए । यही अवस्था कायम रह्यो भने यादव पक्षले आधिकारिता पाउनेछ । कार्यकारिणी समिति र संसदीय दलमा ४० प्रतिशत पुर्‍याउन नसके ठाकुर पक्ष थप संकटमा पर्नेछ । नयाँ दल दर्ता गरेमा यो पक्षका सांसदहरुको पद समेत जानेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति